मध्यपुर थिमिका दुई कोरोना संक्रमित पुरुषको मृत्यु
भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाका दुई जना कोरोना संक्रमित जेष्ठ नागरिक पुरुषको मृत्यु भएको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार वडा नम्बर ७ नगदेशका ८१ वर्षीय र मध्यपुर थिमि–५ भुंलाखेलका ७७ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।
मध्यपुर थिमि–७ नगदेशका ८१ वर्षीय पुरुषमा एकसाता अघि कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेको र स्वास्थ्यमा समस्या देखिएपछि मेघा अस्पताल लगिएको तर अस्पतालमा भ्यान्टिलेटर नभएपछि ग्रान्डि अस्पतालमा रेफर गरिएकोमा उक्त अस्पाताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रमुख श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी भुंलाखेलका ७७ वर्षीय पुरुषमा शुक्रबार मुटुको अपरेशन गर्नुअघि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको र अपरेशनपछि गंगालाल अस्पतालमा आज मृत्यु भएको हो ।
मृतक दुवैको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । तीमध्ये मध्यपुर थिमि नगरका १० जना छन् ।
पछिल्लो तथ्यांक अनुसार भक्तपुर जिल्लामा आईतबार हालसम्मकै धेरै अर्थात ८२ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि भएको थियो ।
भक्तपुर जिल्लामा कोरोना पोजेटिभ भएका १२ जना सम्पर्कविहिन भएका छन् । ३ सय ४९ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् ।








प्रतिक्रिया राख्नुहोस्