तनहुँमा जनप्रतिनिधिसहित १८ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ऋषिङ गाउँपालिका, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा गरी सोमबार १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरणमा ऋषिङका ११ जना, व्यासका १ जना र शुक्लागण्डकीको ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
ऋषिङ–५ का २२, २८ र १९ वर्षीय ३ जना पुरुष, ऋषिङ–६ का २० वर्षीय पुरुष, ऋषिङ–८ का ५१ वर्षीय पुरुष, ऋषिङ–२ का १८, ५२, २० र २६ वर्षीय ४ जना पुरुष, ऋषिङ–३ का ३८ वर्षीय पुरुष र ऋषिङ–४ का २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
ऋषिङमा संक्रमण भेटिएका ११ जनामध्ये एक जना जनप्रतिनिधि, एक जना दुबइ र एक जना भारतबाट आएका नागरिक हुन भने अन्य संक्रमित कन्ट्रयाक ट्रेसिङमा परेका हुन ।
प्रदेशको स्वास्थ्य निर्देशनालयले संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा भेटिएको दाबी गरेको थियो । ऋषिङ गाउँपालिकामा शुरुमा विदेशबाट आउनेलाई मात्रै कोरोना संक्रमण देखिएको थियो ।
यस अगाडी ऋषिङ गाउँपालिकाका ७४१ जनाको स्वाब परीक्षण गरिएकोमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यी सबै निको भएर घर फर्किएका छन ।
यस्तै जिल्लाको व्यास नगरपालिकामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । चितवन मेडिकल कलेज, चितवनको प्रयोगशालामा गरिएको परिक्षणमा व्यास–४ का २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिकामा ६ जना कोरोना संक्रमित थपिएका हुन । ५ जना पुरुष र १ बालिकालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका–५ का ४७ वर्षीय पुरुष, वडा नम्बर ६ का ४० वर्षीय पुरुष र १० वर्षीया बालिका, वडा नम्बर ११ का २३ वर्षीय पुरुष र वडा नखुलेका २४ र ३४ वर्षको पुरुषलाई संक्रमणको पुष्टि भएको हो ।








प्रतिक्रिया राख्नुहोस्