थिमि वृत्तका ३० प्रहरीमा कोरोना संक्रमण
भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिका ३० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि सो बृृत्तका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने वृत्तमा रहेका ५ जना थुनुवामा पनि संक्रमण देखिएको थियो । महानगरीय प्रहरी परिसरका ४ जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो ।
आइतबारको नियमित प्रेस मिटमा स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्यांकअनुसार प्रहरी सहित भक्तपुरमा ८१ संक्रमित थपिएका छन् ।
पछिल्लो तथ्यांक अनुसार भक्तपुरमा कोरोना संक्रमितको संख्या ९९३ पुगेको छ । पुरुष ५७७ र महिला ४१६ जना रहेका छन् । आइतबार भक्तपुरमा देखिएको संक्रमण ३० जना भने प्रहरी रहेका छन् । ५१ जना सर्वसाधरणमा कोरोना संक्रमण भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर जिल्लामा आईतबार हालसम्मकै धेरै अर्थात ८१ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि गरेको भएता पनि ८२ जनाको नामावली आएको जानकारी दिएको छ ।
भक्तपुर जिल्लामा कोरोना पोजेटिभ भएका १२ जना सम्पर्क विहिन भएका छन् । स्वास्थ्य कार्यालय भक्तपुरकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लका अनुसार भक्तपुर तोकिएर आएका १२ जना संक्रमित सम्पर्कमा आएका छैनन् ।
कतिको सम्पर्क नम्बर गलत रहेको र कसैले जति सम्पर्क गरेर पनि मोबाइल नउठाएको उहाँको भनाई छ । कसैको स्पष्ट ठेगाना नखुल्दा पनि सम्पर्कविहीन भएको जनस्वास्थ्य अधिकृत बल्लले बताउनुभयो ।
कोरोना भाइरस संक्रमणले भक्तपुरमा मर्नेको संख्या १३ पुगेको छ । पछिल्लो समय भक्तपुर नपाका कोरोना भाइरस संक्रमण हुने दर बढेको छ । तर ३ सय ४९ जनाले कोरोना भाइरस संक्रमणलाई जितेको अधिकृत बल्लले बताउनुभयो ।
भक्तपुर नगरपालिका २ निवासी भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई समेत कोरोना भाइरस संक्रमण भएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव समेत रहेका सांसद सुवाल अहिले होम आइसोलेसनमा हुनुहुन्छ ।
त्यस्तै भक्तपुर नपाका दुई वडा अध्यक्ष र दुई वडा सदस्यलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँहरु संक्रमण उपचारको लागि आइसोलेसनमा रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्