कालिकोटमा कोभिड विशेष अस्पताल सञ्चालन
जुम्ला । कालिकोटमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका १० वटै जिल्ला मध्य पहिलो जिल्लाका रुपमा कालिकोटमा ५४ शैयाको कोभिड विशेष अस्पताल सञ्चालनमा आएको हो ।
उक्त कोभिड विशेष अस्पतालको आईतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नु भएको छ । मुख्यमन्त्री शाहीले उद्घाटन गरे संगै आजैबाट अस्पतालका सेवाहरु पनि शुभारम्भ भएका छन् ।
कर्णालीमा कोरोना संक्रमण अन्य प्रदेशको तुलनामा कमै भएपनि कालिकोटका नागरिकलाई उपचारका लागि जुम्ला सुर्खेत भौतारिनु पर्ने समस्याबाट छुटकरा मिलेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारको एक करोड ७० लाखको लागतमा कोरोना विशेष अस्पताल तयार भएको समेत मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । कालिकोटका स्थानीय तहमा रहेका आइसोलेसन, क्वारेन्टाईनमा बसेका सबै संक्रमित अब विशेष अस्पतालमै बस्ने भएका छन् ।
२ वटा आइसियू कक्ष र एक भेन्टीलेटर सहित ५४ शैयाको विशेष अस्तालमा तयार भएको अस्पताल विकास समितिका अध्यक्ष सरोज बोगटीले बताउनुभयो ।
साथै कालिकोटमा बाढी पहिरोमा परी हाल ज्यान गुमाउनेका आफन्तलाई राहत वितरण गरिएको छ । कर्णाली सरकारले शूरु गरेको जोखिम बिमा बापत मृत्तकका परिवारले पाउने रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।
हालसम्म मृत्यु भएका ५१ जनाका परिवारलाई राहत वितरण गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री सहित, कानुन मन्त्री, सामाजिक विकास मन्त्री लगायतको टोली माथिल्लो कर्णालीका नागरिक संग भेटघाटका लागि आएको छ ।
कालिकोट पछि मुगु हुदै जुम्ला पुगेर फर्किने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्