तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेबाट लामो तथा छोटो दूरीका सवारी साधन चलाउने तयारी

बाँके । बाँकेबाट आगामी असोज १ गतेदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण बन्द भएको यातायातका साधन पुनः सञ्चालनका लागि शनिवार कोहलपुरमा यातायात व्यवसायी र यातायात मजदुर बिच छलफल भएको छ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घ जिल्ला समन्वय समितिको संयोजनमा यातायात व्यवसायी र यातायात मजदुर बिच छलफल हुँदा आगामी असोज १ गतेदेखि लामो तथा छोटो दूरीका यातायातका साधन सञ्चालन गरिने समन्वय समितिका संयोजक टङ्क बस्यालले बताउनुभयो ।स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर सवारी साधन सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ बाँकेका सचिव राजकुमार बिसीले लकडाउनका कारण मजदुरहरूलाई हातमुख जोर्न समस्या भएको भन्दै यातायातका साधन सञ्चालनको विकल्प नभएको बताउनुभयो । उहाँले सुरक्षा मापदण्ड पुरा गरेका सार्वजनिक यातायात सुचारु गर्नु पर्ने जिकिर गर्नुभयो ।

बाँकेबाट छोटो तथा लामो दूरीको सवारी साधन चलाउने तयारी भइरहँदा कोरोना भाइरस महामारी रोकथाम तथा न्यूनीकरणका लागि बाँके प्रशासनको निषेधाज्ञा भने हटेको छैन । हप्ताको दुई दिन लाग्दै आएको निषेधाज्ञा असोज २ र ३ गते लाग्नेछ ।

तर, जिल्ला प्रशासन बाँकेले जिल्लामा लगाएको निषेधाज्ञाको पूर्व सन्ध्यामै लामो तथा छोटो दूरीको सवारीसाधन चलाउने निर्णय प्रशासन विरुद्ध भएको बताएको छ ।

त्यसो त बाँकेमा दिनहुँ कोरोना भाइरस संक्रमित थपिँदै गएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button