तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा सोमबारबाट बजार र सार्वजनिक सवारी साधन सञ्चालनमा आउने

तुलसीपुर । दाङमा भोलि (सोमबार)बाट बजार र सार्वजनिक सवारी साधन सञ्चालनमा आउने भएका छन् ।

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने र सार्वजनिक यातायातका सवारी साधनहरू पनि जोरबिजोरका आधारमा सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिनुभयो ।

‘काठमाडाँैमा खुलिसक्यो यहाँ मात्रै रोकेर पनि भएन,’ प्रहरी प्रमुख चन्दले भन्नुभयो–‘ सामाजिक दुरी र सजगता अपनाउँदै लकडाउन खुकुलो बनाउने निर्णय भयो ।’

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा घोराहीमा बसेको सुरक्षा समितिको बैठकले लकडाउनलाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको हो ।

बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान प्रहरीका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसअघि कोरोना महामारीका कारण सार्वजनिक सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको थियो भने बजार बिहान ६ बजेदेखि दिउसो १२ बजेसम्म मात्रै खुल्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button