व्यावसायिक खेतीबाट राम्रो आम्दानी लिँदै कृषक
खाँदबारी,-लकडाउनको अवधि बढेसँगै सङ्खुवासभामा कृषकले आफ्नो आम्दानी बढाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमणले बजार क्षेत्र सुनसान र हिँडडुलमा समस्या भए पनि गाउँमा भने कोरोना सङ्क्रमणले कृषकलाई आफ्नो पेशामा समय दिन साथ दिएको सभापोखरी गाउँपालिका–२ का कृषक मानध्वज राईले बताउनुभयो । स्कूल क्याम्पस सबै बिदा छ ।
छोराछोरी सबै गाउँमै हुँदा खेतीपातीमा धेरै सहजता आएको भन्दै अहिले आफूसहित सपरिवार खेतबारीमै व्यस्त हुने गरेको जानकारी राईले दिनुभयो ।
आँप, लिची, केरा, कागती, सुन्तला, मेवा, भुइँकटहरलगायतका १०० भन्दा बढी फलफूलको बिरुवा लगाएको राईले बताउनुभयो । बेसार, अदुवा, सिमीलगायतका सागसब्जी रोपेर आम्दानीको स्रोत बढेको भन्दै कोरोना सङ्क्रमणले लामो समयदेखि आम्दानी नै लिन नसकिएको खेतबारीबाट समेत केही वर्षपछि राम्रो आम्दानी जुटाउन सकिने वातावरण तयार भएको राईको भनाइ छ । राईले परिश्रम, जैविक खानपिन र सरसफाइबाटै कोरोनालाई परास्त गर्न सकिने भन्दै कोरोनासँग डराएरभन्दा श्रम र पसिना बगाउन सके आर्थिक प्रगति हुनुका साथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाएर रोगलाई भगाउन सकिने धारणा राख्नुभयो ।
सभापोखरीका मानध्वज मात्रै होइन, सङ्खुवासभाका धेरै कृषकले लकडाउनको समयमा खेतीपातीबाट राम्रो आम्दानी बढाएका छन् । खाँदबारी–४ पाङ्माका दाजुभाइ गङ्गाराज र बलबहादुर कुलुङ राईले समेत लकडाउनले कृषकलाई राम्रो अवसर दिएको बताउनुभयो । उहाँहरुले आफ्नो सात रोपनी र छिमेकीसँग भाडामा लिएको दुई रोपनी गरी नौ रोपनी जग्गामा टमाटर, प्याज, काउली, सागलगायतका तरकारी बाली लगाउनुभएको छ । बाह्र वटा टनेलमा दाजुभाइले मिलेर लगाएको टमाटर, सागसब्जीलगायतका फलफूल किन्न उपभोक्ताहरु करेसाबारीमै पुग्ने गरेका गङ्गाराजले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्