तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेशमै रासायनिक मल कारखाना खोल्न माग

रुपन्देही । हरेक वर्ष मल अभावमा दुःख पाएको भन्दै रुपन्देहीका किसानले स्वदेशमै रासायनिक मल कारखाना खोल्न माग गरेका छन् । उनीहरुले दीर्घकालीन समस्या समाधानका लागि सरकारलाई स्वदेशमै मल कारखाना खोल्न सुझाव दिएका हुन् ।

जबसम्म नेपालमै रासायनिक मलको कारखाना खुल्दैन, तबसम्म मल नपाउने समस्या समाधान नहुने राष्ट्रिय कृषक महासंघका अध्यक्ष शिवप्रसाद धवलले बताउनुभयो । दशकदेखि समयमै मल नपाउने समस्या भएको बताउँदै उहाँले प्रत्येक वर्ष एउटा न एउटा बाहना बनाएर राज्यले किसान ठगिदै आएको बताउनुभयो ।

सातै प्रदेशमा मल कारखाना खोल्न र कारखाना नखुल्दासम्म प्रदेश तथा संघ सरकारले सिधै मल खरिद गर्नुपर्ने र प्रदेश सरकारलाई पनि मल खरिदको अधिकार दिनुपर्ने उहाँको सुझाव छ ।

सियारीका किसान कमला सापकोटाले ठेकेदारको बद्मासी र सरकारको कमजोरीले किसानले सधैं दुःख पाइरहेकाले समस्या समाधानको एउटै उपाय कारखाना खोल्नु भएको बताउनुभयो ।

धानमा तीनपल्टसम्म यूरिया राख्नुपर्ने भए पनि अधिकांश किसानले एकपल्ट मात्रै राखेका छन् । केहीले दुईपल्ट राखे पनि तीनपल्ट भने राख्न पाएका छैनन् । सीमा क्षेत्रका किसानले भारतीय बजारबाट चोरी तस्करी गरेर मल ल्याएर धानमा प्रयोग गर्ने गर्छन् । कम पोषकतत्व भएको मल प्रयोग गर्दा होस् वा मल नपाउँदा होस्, यसले उत्पादनमा निकै नकारात्मक प्रभाव पारेको र यसपाली त उत्पादन ह्वात्तै घट्ने धवलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button