तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली क्रिकेट खेलाडीले १ बर्षदेखी रोकिएको तलव पाए


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीले एक वर्षबाट रोकिएको तलब पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति निकाल्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीले तलब पाएको जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट रकम प्राप्त भएसँगै क्यानले खेलाडीको एक वर्षको एकमुस्ट तलब खेलाडीको खातामा हालिदिएको हो । क्यानले खेलाडी वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार बढी रकम पाएको समेत जनाएको छ । क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार वृद्धि गर्न आईसीसी सहमत भएको थियो ।

राष्ट्रिय टिमका खेलाडीले तीन श्रेणी अनुसार तलब पाएका छन् । जसमा ’ए’ श्रेणीको खेलाडीले ४५ हजार, ’बी’ श्रेणीको खेलाडीले ३५ हजार र ’सी’ श्रेणीको खेलाडीले मासिक २५ हजारको दरले तलब पाएका छन् ।

एकमुष्ट एक वर्षको तलब पाउँदा ’ए’ श्रेणीका खेलाडीले ५ लाख ४० हजार, ’बी’ श्रेणीका खेलाडीले ४ लाख २० हजार र ’सी’ श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ पाएका छन् ।

’ए’ श्रेणीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी रहेका छन् ।

’बी’ श्रेणीमा आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा, सुसन भारी, ललित नारायण राजवंशी रहेका छन् ।

’सी’ श्रेणीः रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button