गर्भवती महिलालाई सामान्य अवस्थामा अस्पताल नजान स्त्रीरोग विशेषज्ञको सुझाव

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला गर्भवती महिलाहरूले थप स्वास्थ्य सतर्कता अपनाउनु पर्नेमा स्त्रीरोग विशेषज्ञहरूले सुझाव दिनुभएको छ ।
गर्भावस्था संवेदनशील अवस्था भएकाले पनि अन्य सामान्य अवस्थाका मानिसको तुलनामा उनीहरूमा सङ्क्रमणको जोखिम बढी हुने भएकोले विशेष सावधानी अपनाउनुपर्ने विशेषज्ञहरू बताउनुहुन्छ ।
कोरोना भाइरस सङ्क्रमणको दर पछिल्लो समय दिनानुदिन बढिरहेको अवस्थामा गर्भवती महिलाहरूमा यसको जोखिम अझ बढी हुने गर्दछ ।
कोरोना सङ्क्रमण फैलिरहेको अवस्थामा जटिल स्वास्थ्य समस्या नआएसम्म अस्पताल नजान गर्भवती महिलाहरूलाई स्त्री रोग विशेषज्ञहरूको सुझाव छ ।
गर्भवती महिलाहरू घरमा रहँदा पनि सामाजिक दुरी कायम राख्ने, सरसफाइमा विशेष ध्यान दिने, नियमित रूपमा सेवन गर्दै आएका औषधी नछुटाई खाने, पौष्टिक आहार सेवन गर्ने, पेटमा रहेको बच्चा चले नचलेको लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने विशेषज्ञहरू बताउनुहुन्छ ।
गर्भवती महिलामा स्वास्थ्य सम्बन्धी जटिल समस्या आएमा भने विशेषज्ञसँग टेलिफोनमार्फत पनि सल्लाह लिन सकिने र व्यथा लागिसकेपछि अथवा लाग्नुभन्दा अगाडी विशेषज्ञकै सल्लाह अनुसार अस्पताल जान वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. उर्मिला कार्कीले सुझाव दिनुभयो ।
यदि गर्भवती महिला सुरक्षित रहँदा रहँदै पनि कोरोना सङ्क्रमण भयो र ज्वरो आउने, झाडापखाला लाग्ने, प्रेसर, सुगर बढ्ने, श्वासप्रश्वासमा समस्या आउने जस्ता लक्षणहरू देखिएमा भने तुरुन्तै विशेषज्ञसँग सल्लाह लिने र स्वास्थ्य संस्थामा जानुपर्ने हुन्छ ।
सङ्क्रमित गर्भवती महिलाको सुत्केरी हुने समय आइसकेको अवस्थामा भने सम्भव भएसम्म स्वास्थ्य संस्थामा नै सुत्केरी हुने व्यवस्था मिलाउने र सम्भव नभएमा घरमै पनि सुरक्षाका मापदण्ड अपनाएर सुत्केरी गराउन सकिने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कार्कीले बताउनुभयो । घरमै सुत्केरी गराउने अवस्थामा भने आमा र बच्चा दुवै सुरक्षित रहने गरी सुरक्षाका उपाय अपनाएर मात्रै गराउनुपर्ने हुन्छ ।
कोरोना सङ्क्रमण बढिरहेको हालको अवस्थामा गर्भवती महिलाहरू साधारणतया गर्भ परीक्षणका लागि पनि अस्पताल कम जाने, घरमै सुरक्षित रूपमा रहने, भिडभाडमा नजाने, नियमित आइरन, क्याल्सियम खाने, बच्चा चले नचलेको जानकारी राख्ने र जटिल स्वास्थ्य समस्या देखिए मात्रै अस्पताल जान उपयुक्त हुने देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्