सिकिस्त कोरोना संक्रमित बिरामीको रेफर सेन्टर बन्दै बाँकेका अस्पताल

बाँके । बाँकेको भेरी र नेपालगन्ज मेडिकल कलेजमा पश्चिम जिल्लाहरूका लागि रेफर सेन्टर बन्दै गएको छ । अहिले बाँकेको दुइटै अस्पतालहरूमा त्यस क्षेत्रका सिकिस्त कोरोना संक्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशबाट गम्भीर प्रकारका संक्रमित बिरामी रेफर भएर आउने गरेपछि ती बिरामीलाई बचाउन स्वास्थ्यकर्मीहरू लागिपरेका छन् । नेपालगन्जमा अझ प्लाज्मा थेरापीबाट उपचार सुरु भएपछि यो सङ्ख्या बढेको हो ।
तर प्लाज्मा थेरापीका लागि ब्लड दिने निको भइसकेका सङ्क्रमितको सङ्ख्या उल्लेख्य बढ्न सकेको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले पश्चिमबाट गम्भीर प्रकृतिका बिरामी उपचारका लागि नेपालगन्ज आइरहेको बताउँदै प्लाज्मा थेरापीका लागि ब्लड दिन पटक पटक आग्रह समेत गरिरहनुभएको छ ।
भेरीमा भेन्टिलेटर सहितको सुविधा सम्पन्न कोभिड विशेष अस्पताल सञ्चालनको तयारी छ भने अहिले पनि सिकिस्त बिरामीको उपचार भइरहेको छ । नेपालगन्ज मेडिकल कलेजले एक सय बेडको कोरोना डेडिकेटेड वार्ड सञ्चालन गरिरहेको छ । पछिल्ला दिनहरूमा लक्षण भएका बिरामीहरूको सङ्ख्या बढ्दै गएका कारण कोरोना सङ्क्रमितहरूको उपचार थप जटिल बन्दै गएको भन्दै यस्तो सुविधा थप गरिएको हो ।
यस्तो अवस्थामा समयमा उपचार नै नपाएर संक्रमित बिरामीहरूको मृत्यु हुन सक्ने अवस्था आउन नदिन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आइसियु सहितको ५० बेडको प्रि आइसोलेसन वार्ड सञ्चालनमा ल्याइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्