समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तानसेन नगरपालिकाको सेवा बन्द

पाल्पा । जनप्रतिनिधिसहित समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तानसेन नगरपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने भएको छ ।
नगरपालिकाका मेयर अशोक कुमार शाहीका अनुसार अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा शुक्रवारबाट बन्द हुने भएको हो ।
तानसेन नगरपालिकाका एक जना वडा अध्यक्ष र तीन वडा सदस्यहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
तानसेनको वडा नं १ का दुई जना, वडा नं. २ को एक जना, वडा नं. ६ को एक जना, वडा नं. ७ को तीन जना, वडा नं. ८ को दुई जना, वडा नं. ९ को एक जना, वडा नं. १० को चार जना, वडा नं. ११ को एक जना र वडा नं. १२ को दुई जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो ।
तानसेन नगरभित्रका पुष्टि भएकाहरू ट्राभल हिष्ट्री नभएकाहरू समेत रहेकाले समुदायमा समेत सङ्क्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।
पाल्पामा हालसम्म छ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्