तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङको सिदिङ्वामा सब डिभिजन वन कार्यालयको भवन निर्माण सुरु

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सब डिभिजन वन कार्यालयको भवन निर्माण सुरु भएको छ ।

एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लामा यो भवन निर्माण भएसँगै पाँच स्थानीय तहमा वन कार्यालयको भवन हुनेछ ।

सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा बन्ने भवन दुई तले पाँच कोठेको हुने डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख बिरेन्द्र शाहले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि रु. ६१ लाख ७८ हजार दूई सय ९१ को लागतमा नौ महिनाको अवधिमा सक्ने गरी दुर्विच निर्माण सेवालाई जिम्मेवारी दिएको प्रमुख शाहले बताउनुभयो ।

ताप्लेजुङमा हाल फुङलिङ नगरपालिका, सिरिजंघा गाउँपालिका, मिक्वाखोला गाउँपालिका, आठराई र मिरिङ्दे गाउँपालिकाको दोभानमा सब वन कार्यालयको भवन रहेको छ । दोभानको भवन जिर्ण भएकाले तत्काल नयाँ भवन निर्माणका तयारी रहेको जनाएको छ ।

यता दरबन्दी अनुसार कर्मचारी नहुँदा फिल्डमा गएर काम गर्न समस्या हुने गरेको छ । ग्रामीण क्षेत्रमा पुगेर सेवा दिने कार्यालयमा ४३ प्रतिशत कर्मचारी अपुग रहेको बताइएको छ ।

४९ जना कर्मचारीको दरबन्दी रहेको जिल्लामा हाल २७ जना कर्मचारीले काम गरिरहेको प्रमुख शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button