तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु

जनकपुरधाम । मिथिलाञ्चलसहित तराई मधेसका महान तथा कठोर पर्वको रुपमा रहेको ‘जितिया पर्व’ आज देखि शुरु भएको छ ।

व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही र पिनालाई प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

भोलि (बिहीबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गर्ने साइत रहेको छ ।

ब्रतिहरु आज जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुषसागर, अ)गराजसर, विहारकुण्ड, अग्निकुण्ड, दुग्धमति, कमला सहितको नदिमा स्नान गरेर घटमा नै जिमुत वाहन तथा दिवंगत पितृलाई प्रसादको रुपमा घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाएका छन् ।

देवतालाई चढाएकै तेल मध्येबाट केही तेल आ–आफना शाखा सन्तानलाई लगाएर दीर्घ जीवनको कामना गर्ने गरेका छन् । आजको पूँजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन रहेको छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भन्ने गरिन्छ ।

भोलि एकाबिहानै अर्थात काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरु ओंगठन विधि सम्पन्न गर्दछन् । घरका बालबालिकालाई पनि ब्रतिले आफैसँग ओगठन गराउने चलन रहेको छ ।

यस पटक ब्रतिलाई ओगठनको साइत नरहेको पण्डितहरुले जानकारी दिनु भएको छ । आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत कठिन रहेको छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्ति तथा समृद्धिको कामना सहिते जितिया पर्व मनाईने चलन रहेको छ । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ ।

उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न नपाउँने धार्मिक मान्यता रहेको छ ।

महिलाहरुले सामाजिक दूरी कायम गरेर जितिया पर्व मनाईरहेका छन् । कतिपय ठाउँमा भिड भएपनि प्रहरीले सम्झाई बुझाई गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button