प्रहरी नायब उपरीक्षक सहित २० जनामा कोरोना भाईरस सङ्क्रमण

रौतहट । रौतहटका प्रहरी नायब उपरीक्षक सहित २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम शाही सहित २० जना प्रहरीमा एकै दिन कोरोना भाइरसको संक्रमण देखिएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका दुई प्रहरी अधिकृत सहित मुद्दा फाट लगायत फिल्डमा खटिएका २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । दुई दिन अघि मात्रै इलाका प्रहरी कार्यालय गरुडाको हिरासत कक्षमा थुनुवा लाई समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहित सर्वसाधारण गरी ४१ जनाको स्वाब सङ्कलन गरिएकोमा बुधवार २० जना प्रहरी र ८ जना सर्वसाधारण गरी २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ ।
रौतहटमा बुधवार एकै दिन ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यमुनामाई गाउँपालिकामा १२ जना, दुर्गाभगबती गाउँपालिकामा १८ जना र चन्द्रपुर नगरपालिकामा २८ जना गरी ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।








प्रतिक्रिया राख्नुहोस्