सेनाका जवानद्वारा प्लाज्मा दान

बाँके । नेपालगन्जमा नेपाली सेनाका एक जवानले कोरोनाका गम्भीर बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचारका लागि रगत दान गरेका छन् ।
उदयपुरको कटारी स्थायी ठेगाना भएका सेनाका जवान रामहरी अधिकारीले बुधवार कोरोनाका गम्भीर बिरामीको उपचारका लागि रगत दान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
जवान अधिकारी नेपाली सेनाको पश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरमा कार्यरत छन् । उनलाई केही समय पहिला कोरोना पोजेटिभ देखिएको थियो । उनी कोरोना संक्रमण भए पस्चात १४ दिन आइसोलेसन बसेर थप १४ दिनको समय अवधि पूरा गरिसकेका हुन ।
बुधवार बिहान मात्रै प्रजिअ कुरुम्बाङले बाँकेका कोरोनाका गम्भीर बिरामीको उपचारका लागि कोरोना सङ्क्रमित भई निको भएका व्यक्तिको बि पोजेटिभ समूहको रगत अत्यावश्यक भएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत रगत दान गर्न आग्रह गर्नुभएको थियो ।
कोरोना सङ्क्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्टाएर गम्भीर सङ्क्रमित बिरामीलाई दिने प्रक्रिया नै प्लाज्मा थेरापी हो । यसले सङ्क्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने चिकित्सकहरू बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्