नगरपालिका फोरमद्वारा उपत्यकामा जोरबिजोर प्रणाली लागू गर्न माग
काठमाडौं । काठमाडौँ उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्न माग गरेको छ ।
काठमाडौँमा आज बसेको फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी सञ्चालनमा जोरविजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ ।
निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौँ भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाई गर्नसमेत सरकारलाई सुझाव दिएको उहाँले बताउनुभयो ।
यस्तै, काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समयावधि सकिन एक दिन बाँकी रहँदा आगामी दिनका लागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले छलफल थालेको छ ।
सरकारी निकाय, जनप्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिसँग आज छलफल गरेको र आएका सुझावको आधारमा निषेधाज्ञाबारे उपयुक्त निर्णय गरिने जनाइएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा जारी भएपछि हालसम्मको अवस्थाबारे समीक्षा गर्दै आगामी दिनमा अपनाउने रणनीतिका बारेमा विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफल गरिएको जानकारी दिनुभयो ।
उपत्यकाको नगरपालिकाका प्रमुख तथा प्रतिनिधिसहित काठमाडौँ, ललितपुर र भक्तपुर का प्रमुख जिल्ला अधिकारीबीच पनि छलफल भएको छ ।
यस्तै जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले गृह मन्त्रालय र उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिसँग समेत सुझाव लिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
काठमाडौँ उपत्यकामा भदौ ४ गतेदेखि जारी निषेधाज्ञाको अवधि भोलि राति १२ बजेदेखि समाप्त हुँदैछ ।








प्रतिक्रिया राख्नुहोस्