पाँच पोखरीमा सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीबाट

सिन्धुपाल्चोक । जिल्लाका १२ स्थानीय तह मध्ये पहिलो पटक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बैङ्कसँग आधिकारिक सम्झौता गरी सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणाली मार्फत वितरण गर्ने भएको छ । गाउँपालिका र मेगा बैक लिमिटेड पाँचपोखरी शाखाबिच आज सो सम्झौता भएको हो ।
गाउँपालिका र मेगा बैक बिच विद्युतीय प्रणाली अनुसार सामाजिक सुरक्षा भत्ता भुक्तानी रणनीति २०७४ को अनुसूची ४ र सो बमोजिम सर्त मान्य हुने गरी आर्थिक वर्ष २०७७÷०७८ देखि ०७९÷०८० सम्म तीन वर्षको लागि बैङ्क सँग सम्झौता भएको हो। गाउँपालिका प्रमुख टासी लामा, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला र मेगा बैक लिपाँचपोखरी शाखाका प्रबन्धक चतुर प्रसाद भट्टराई बिच सम्झौता कार्य सम्पन्न भएको हो ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै शाखा प्रबन्धक भट्टराईले जिल्लाकै विकट मानिने पाँचपोखरी थाङ्पाल गाउँपालिका क्षेत्रमा बैङ्किङ प्रणाली मार्फत सेवा दिन पाउँदा खुसी व्यक्त गर्दै जनता माझ सरल सहज ढङ्गबाट सेवा प्रदान गर्न बैङ्कले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सामाजिक सुरक्षा भत्ता वितरणमा चुस्त दुरुस्त ढङ्गबाट सरकारले चालेका कदम नियम अनुसार पालिकाले जनतामाझ सेवा प्रदान गर्ने बताउनु भयो । गाउँपालिका अध्यक्ष लामाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ज्येष्ठ नागरिक, एकल, अपाङ्ग असहाय, अति अशक्त व्यक्तिहरूलाई सरल र सहज ढङ्गबाट बैङ्कले भत्ता वितरण गरिदिनु पर्ने बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्