तपाईँ सुन्दै हुनुहुन्छः

विना कारण सशस्त्र द्वन्द्वका घाइतेको जीवन निवार्ह भत्ता काटियो

सल्यान । सल्यानमा सशस्त्र द्धन्दको क्रममा घाइते तथा अपाङ्गता भएका ६८ मध्ये २६ जनालाई मात्र राहत र जीवन निर्वाह भत्ता दिइएको थियो । तर गृह मन्त्रालय मन्त्रालय मातहत रहेको प्राविधिक समितिले यो वर्ष विना कारण १२ जनाले पाइरहेको जीवन निर्वाह भत्ता काटी दिएको भन्दै सल्यानका द्वन्द्व पीडितले गुनासो छन् ।

द्वन्द्वको समयदेखि गत आर्थिक वर्षसम्म घाइते तथा अङ्गभङ्ग भएका २६ जनाले जीवन निर्वाह भत्ता पाइरहेकोमा चालु आर्थिक वर्षदेखि १४ जनाले मात्र पाउने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

सशस्त्र द्वन्द्वको समयमा घाइते अपाङ्गता भएका ६८ जनाको नाम सिफारिस गरी पठाइएकोमा ५३ जनाको मात्र नाम प्राविधिक समितिले पठाएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताए । उनले भने ‘हामीले ६८ जनाको नै सिफारिस गरी पठाएका थियौ तर मन्त्रालयले कुनै कारण नखुलाई १५ जनाको नाम हटाइदिएको छ ।’

मन्त्रालयमा नाम हटाइएको बारेमा बुझ्दा फेरी वैठ्क बसी सिफारिस गर्न आग्रह गरिए बमोजिम ९ जनाको नाम पठाइएको उनको भनाई छ । यस्तै विगत वर्षहरूमा विशिष्ट र प्रथम श्रेणीका २६ जनाले मासिक रूपमा पाउँदै आएको जीवन निर्वाह भत्ता पाइएका मध्ये मन्त्रालयले पठाएकोमा १४ जनाको मात्र नाम रहेको उनको भनाई छ ।

चालु आर्थिक वर्ष देखि १२ जनाले नियमित पाउँदै गरेको भत्ता नपाउने उनको भनाई छ । सरकारले विशिष्ट श्रेणीको अपाङ्गलाई मासिक १२ हजार ४ सय र प्रथम श्रेणीकालाई ६ हजार २ सय उपलब्ध गराउँदै आइरहेको छ ।

विना कारण जीवन निवार्ह भत्ता काटिदा दैनिकी चलाउन निकै समस्या भएको बागचौर नगरपालिका ३ का उमाहर्ष डिसीले बताए । जिल्लाबाट पठाइएकोमा प्रथम श्रेणीमा सिफारिस गरी पठाए पनि मन्त्रालयले ग वर्गमा सिफारिस गरेको उनको भनाई छ । राज्यले सशस्त्र द्वन्द्वका घाइतेहरूलाई हेर्ने दृष्टिकोण नै फरक रहेको अर्का घाइते नेव बहादुर कुवरले बताए । घाइतेको स्वास्थ्य स्थितिमा सुधार नै नआई हिजो क वर्गमा रहेका घाइते आज एकाएक ख ग वर्गमा झारी दिएको उनको गुनासो छ ।

द्वन्द्वको समयमा सल्यानमा मृतक, घाइते, बेपत्ता तथा विस्थापित भएकाको तथ्याङ्क स्थानीय शान्ति समितिमा भए पनि त्यो समिति नै खारेज भएपछि अहिले द्वन्द्वपीडितको समस्या जिल्ला प्रशासन कार्यालयले हेर्दै आएको छ ।

प्रशासनको तथ्याङ्क अनुसार सल्यानमा मृतकको सङ्ख्या २ सय ५६, घाइते अपाङ्ग ६८ र ९ सय ५५ विस्थापितले राहत पाइसकेका छन् । सल्यानका २ हजार ५९ जना द्वन्द्व पीडितले उपचार र राहत पाउन सकेका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button