गड्डाचौकीमा देखिन थाल्यो भारत फर्किनेको लर्को

कञ्चनपुर । कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सुदूर तथा मध्यपश्चिम क्षेत्रका नेपालीहरु मजदुरी गर्न फेरि भारत जान थालेका छन् ।
स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरु भारततर्फ जान लागेका हुन् । अहिले पश्चिमी सीमा नाका गड्डाचौकी नाका वाट दैनिक सयौ नेपालीहरु भारत तर्फ गइरहेका छन् ।
रोगको डरले स्वदेश फर्केका नेपालीहरु अहिले भोकको पीडाले फेरि भारत पस्न बाध्य छन् । सुदूर र मध्य पश्चिमका सयौ व्यक्तिहरु अहिले कञ्चनपुरका पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत तर्फ गइरहेका छन् ।

नेपालमा लकडाउन भएसँगै नेपाल भित्रिएका उनीहरु पाँच महिना आफ्नै देशमा बसेपछि पछिल्लो समय खान लाउन र दैनिक गुजारा गर्न समस्या भएपछि भारत पस्न बाध्य भएका हुन । भारतमा फैलिरहेको कोरोनासँग मनमनै डर लागिरहेको भएपनि एक छाक टार्न र परिवार पाल्नका लागि भएपनि रोजगारीका लागी भारत गईरहेका नेपालीहरु सिमाक्षेत्रमा भेटिएका छन । भारत जाने नेपालीहरुलाई सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुले आधार कार्डका आधारमा भारत पठाउने गरेका छन् ।
नेपालबाट पठाइएका यात्रुको भारतीय पक्षले समेत स्वास्थ्य परीक्षण गरी जान दिने गरेको छ । यात्रुसँग भएको आधार कार्डका आधारमा नेपालीहरु सीमा क्षेत्रबाट भारत तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताउनु भएको छ । भारतमा रोजगारी गुमाएर स्वदेश फर्केाका नेपालीलाई राहतका कार्यक्रम ल्याउनु पर्ने उनीहरु बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्