संरक्षण विहिन ऐतिहासिक अर्गली दरबार
पाल्पा -तत्कालिन प्रधानमन्त्री जुद्धशमशेर राणाले निर्माण गरेको ऐतिहासिक अर्गली दरबार अहिले मदिरा सेवनकर्ताको अखडा बनेको छ ।
चारैतिर बाट भत्कन लागेको दरबार भित्र देखिने चुरोट, सुर्ती, गुटका र रक्सीका बोतलहरुले जाँडरक्सी खाएर बस्ने अखडा बनेको पुष्टी हुन्छ । दरबारको भित्ताहरुमा हेरिनसक्नु अस्लिल चित्र र शब्द कोरिएका छन् ।
परम्परागत र ऐतिहासिक दरबार हेर्दा ठिङ्ग उभिएको देखिए पनी भग्नावशेष भन्दा कम छैन । चारैतिरका भित्ताहरु पटपटी फुटेका छन् । धेरै भित्ताहरु पानी परेर भत्किएका छन् । दरबारमा गाँजाका बोटहरु समेत उम्रिएका छन् । चारैतिर झाडि नै झाडि छ ।
दरबार भित्र दिशापिसाव समेत गर्ने गरेको पाईएको छ । ७५ बर्षिय स्थानिय बलराम भट्टराईले आफुहरुले जान्दा चारैतिर झिलिमिलि बिजुली बल्ने, सुब्बा, डिठ्ठा, सुसारे, मैयाहरु बस्ने कोठीहरु सहित चहलपहल क्षेत्र भएको बताए । वरीपरिका सबै जग्गा बेचेर अहिले थोरै भाग मात्र दरबारको भएको उनले बताए । “दरबारमा कलाकौशल यूक्त झ्याल र ढोकाका पल्ला तथा ईंटाहरु धेरै थिए ।” उनले भने । “अहिले त सबै चोरेर लगे । कसैलाई केही मतलब भएन । संरक्षण गर्ने कोहि भएन । अहिले यस्तो हालत छ ।”
तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाबाट १९९७ सालमा निर्माण सुरु भएको दरबार भग्नावशेषमा परिणत भएको छ । अर्गली छाडेर राणाहरु भारत गएपछि ऐतिहासिक दरबार क्षेत्रको संरक्षण हुन सकेको छैन । जुद्धशमशेरकी छोरी जनकराज्यलक्ष्मीले २०५८ साल जेठ १ मा वारेसनामा गरी आफ्ना नाति सञ्जयविक्रम शाहका नाममा दरबार पास गरेको खुलेको छ । सञ्जयविक्रम शाहले २०६२ साल साउन ५ मा श्रीमती पुनम साहका नाममा जग्गा नामसारी गरिदिएको भेटिएको छ ।
जनक राज्यलक्ष्मीले २०६४ सालमा दरबारको जग्गा जिटी टे«डर्स एण्ड हाउजिङ कम्पनी प्रालि, पुल्चोकको नाममा १५ लाखमा बेचिएको मालपोलमा उल्लेख छ । पुनम र हाउजिङ कम्पनीबीच विवाद भएको र मुद्धा चलिरहेको तानसेन १४ का वडाध्यक्ष कमल रानाले बताए ।
रानाले व्यक्तिको नाममा दरबार र जग्गा भएको भन्दै संरक्षण गर्न नसकिएको समेत बताए ।
रानाले संरक्षण गर्न समुदायले धेरै पटक किन्ने प्रयास गरेपनी कहिले मुल्य नमिल्ने त कहिले व्यक्ति नमिल्ने भएको बताए । स्थानीय त्रिभुवन माविले दरबारको केही भाग प्रयोग गरको छ । दरबार क्षेत्रको बगैंचाको आँप र घाँस बेचेको आम्दानी विद्यालयले राख्ने गरेको स्थानिय बलराम भट्टराईले बताए । ऐतिहासिक र पर्यटकका लागि गन्तव्य हुने दरबार व्यक्तिको नाममा हुँदा चाहेर पनी बजेट विनियोजन गरेर संरक्षण गर्न नसकिएको वडाध्यक्ष रानाले बताए ।a
जुद्धशमशेरले प्रधानमन्त्री पद त्याग गरी सन्यासी जीवन बिताउन उद्देश्यले रिडी बजारबाट पाँच किलोमिटर पूर्व पाल्पा जिल्लास्थित अर्गली उपत्यकामा दरबार बनाएका थिए । दरबारमा प्रयोग भएका इँटा, फलाम, काठ, एवं अन्य सामग्री उच्च गुणस्तरको देखिए पनी लगातारको पानीले प्राय सबै विग्रिएका छन् ।
१९९७ सालमा नेपाल प्रजा परिषद्का तीन क्रान्तिकारी प्रजातन्त्रवादीको हत्यापछि राणा शासकले बदनामी कमाएपछी पाप कटाउन यहाँ आएको जानकारहरु बताउँछन् । दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ, स्वतन्त्र नागरिक अधिकारवादी शुक्रराज शास्त्रीको हत्या गराएपछी हत्याको पाप, राप र तापमा जलेका राणा प्रधानमन्त्री जुद्धशमशेरले राजर्षि महाराज भएर गद्दी छाडेका थिए ।
हत्या गरेको पाप पखाल्न भारतको बनारस जाने परम्परालाई तोडेर जुद्धशम्शेर अर्गली क्षेत्रमा आएको पाइन्छ ।








प्रतिक्रिया राख्नुहोस्