तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट कर्मचारीको मृत्यु भएपछि नेपालगन्ज उप–महानगरपालिका पुनः सिल

बाँके । नेपालगन्ज उपमहानगरपालिका पुनः सिल गरिएको छ । उपमहानगरपालिकाका एक कर्मचारीको आइतबार राती मृत्यु भएपछि पुनः सिल गरिएको हो ।

जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बन्द भएको नेपालगन्ज उपमहानगरपालिका यसअघि साउन ३२ गते आइतबारदेखि खुला गरिएको थियो । तर, उपमहानगरपालिका खुला गरिएको २१ औँ दिनमा पुनः सिल गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना सङ्क्रमणका कारण निधन भएपछि नेपालगन्ज उपमहानगरपालिका पुनः सिल गरिएको उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो ।

मृतक जिन्सी सहायक घलेको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै उपप्रमुख उमा थापा मगरले आगामी तीन दिनका लागि उपमहानगरपालिका सिल गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘आज सोमबार एक दिन शोक मनाउन कार्यालय बन्द गरिएको छ । भने भोलि मङ्गलवारदेखि तीन दिनसम्मका लागि कार्यालय सिल गर्ने निर्णय भएको छ । अब आगामी आइतबार मात्र उपमहानगरपालिका कार्यालय खुल्नेछ ।’

कोरोनाबाट मृत्यु भएका ५९ वर्षीय घले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–९ का बासिन्दा हुन् । उनको आइतबार साँझ साढे ८ः०० बजे मृत्यु भएको हो । गत भदौ १५ गते दिउँसो ३ बजे कोरोना संक्रमण पुष्टि भएका उनी सेल्फपेड आइसोलेसनमा बस्दै आउनुभएको थियो ।

नेपालगन्ज न्यूरोडस्थित न्यु इन्द्रेणी होटेलको सेल्फपेड आइसोलेसनमा बसेका बेलामा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि गत भदौ १८ गते पौने ३ः०० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

ती सङ्क्रमित पुरुषमा ३ वर्ष अघिदेखि मधुमेह र ५ वर्ष अघिदेखि मुटुको रक्त नली बन्द हुने समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । उनको स्वास्थ्यमा सुधार नआएपछि समस्या बढ्दै गएपछि गए राती मृत्यु भएको हो ।

योसगैं बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । मृत्यु हुनेमा तीन महिला र चार पुरुष रहेका छन् । जसमा नेपालगन्ज उपमहानगरपालिकामै चार जनाको मृत्यु भइसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button