तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियाको बासगढी नगरपालिकामा एक हप्ताको लागि निषेधाज्ञा

बर्दिया । बर्दियाको बासगढी नगरपालिकामा आइतबार एकै दिन ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त पालिकामा एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ ।

बाँसगढी नगरपालिका–३ मा रहेको सिजी फुड् इन्टरप्राइजेज प्रालि का ४२ जना कामदारमा सङ्क्रमण पुष्टि भएपछि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना प्रकाशन गरी आज बिहान ६ः०० बजेदेखि भाद्र २८ गते राती १२ः०० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिएको हो ।

निषेधाज्ञा बाँसगढी नगर क्षेत्र अन्तरगत पर्ने पूर्वमा मानखोला, पश्चिममा ग्यांङ नदी, दक्षिण बढैयाताल गाउँपालिका सिमाना र उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज सिमानासम्म लागु हुने जनाइएको छ ।

बाँसगढी क्षेत्रमा एकै पटक धेरै सङ्ख्यामा संक्रमण देखिएपछि संयमितता अपनाउनका लागि एक हप्ताको लागि निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी बताउनुभयो ।

भेरी अस्पताल नेपालगञ्ज बाँकेको प्रयोगशालामा गरिएको पिसिआर रिपोर्ट अनुसार सिजी कम्पनीका ४२ जना कामदारमा कोरोना सङ्क्रमण देखिएको थियो । जसमा २९ महिला र १३ पुरुष रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो ।

सिजी कम्पनीमा तीन सय ५० जना कर्मचारी र कामदार मध्ये एक सय २७ जनाको आइतबार स्वाब सङ्कलन गरिएको छ । अन्यको शुक्रवार स्वाब सङ्कलन गरिएका मध्ये आइतबार आएको पिसिआर रिपोर्टमा ४२ जनालाई संक्रमण देखिएको थियो ।

संक्रमण देखिएका मध्ये ३४ जना बाँसगढी नगरपालिकाका, चार जना बढैयाताल गाउँपालिका र अन्य चार जना अन्य जिल्लाका रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

योसँगै बर्दियामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या चार सय सात पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button