गण्डकी प्रदेशमा थपिए ६७ कोरोना संक्रमित, कुल संख्या २५९८ पुग्यो

तनहुँ -गण्डकी प्रदेशमा थप ६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार बिहानै सार्वजनिक गरेको तथ्यांकअनुसार गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन् ।
जोखिम क्षेत्रका व्यक्तिमा स्वाब परीक्षण गर्दा बिहीबारमात्र पोखरा औद्योगिक क्षेत्रका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पोखराको मेडिसिटी अस्पतालमा उपचाररत २ जना बिरामीमा पनि संक्रमण देखिएको छ।
पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । अस्पतालका २ नर्स र २ जना कार्यालय सहयोगी गरी ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सूस्ता पूर्व) को देउचुली नगरपालिका एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । देउचुलीमा स्वास्थ्यकर्मीसहित २१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी गोरखा र पालुङटार नगरपालिकामा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । तनहुँको व्यास नगरपालिकामा पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा थपिएका सबै नयाँ संक्रमित कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरिएका व्यक्ति भएको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिनुभयो ।
पछिल्लो समय तीव्र गतिमा कोरोना संक्रमणको दर बढिरहेको छ । समुदायका विभिन्न क्षेत्रमा संक्रमण फैलिएको छ । योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ जना पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्