बैतडी : निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो
बैतडी-बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको हो ।
बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशमा निषेधाज्ञाका बेला गर्न पाउने र नपाउने कुरा उल्लेख गरिएको छ । अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको जारी आदेशमा उल्लेख गरिएको छ । यस्तै सवारी साधनको हकमा जोरबिजोर प्रणालीअन्तरगत सञ्चालन गर्न दिने र निषेधाज्ञाको अनुगमन गर्ने निर्णयसमेत भएको प्रजिअ जोशीले बताउनुभयो ।
सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्लामा सबै प्रकारका भेला, बैठक, सेमिनारमा भने यसअघिकै निर्णयानुसार रोक लगाइने जारी आदेशमा उल्लेख गरिएको छ । यसअघि भदौ ८ गतेदेखि भदौ १४ गतेसम्म पहिलो चरणको निषेधाज्ञा र १४ गतेदेखि भदौ २१ गतेसम्म दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको थियो । दुई हप्ता लामो निषेधाज्ञापछि सोमबारदेखि निषेधाज्ञा केही खुकुलो हुने भएको हो ।
बैतडीमा हालसम्म ३७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ३६० जना निको भएर घर गइसकेका छन् भने १५ जना विभिन्न स्थानीय तहका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । एक हप्ता लम्बियो निषेधाज्ञा डोटी : जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ । यही भदौ १४ गते राति १२ बजेदेखि २१ गते भदौ १२ बजे सम्म लागु भएको निषेधाज्ञा गए राती १२ बजे सकिएपछि निषेधाज्ञाको समय पुनः एक हप्ताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि १० बजेसम्म खाद्यान्न तथा तरकारी पसल खोल्न तथा अन्य सबै प्रकारका पसल पूर्णरूपमा बन्द गर्ने निर्णय भएअनुसार निषेधाज्ञाको समय थप गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्