अछाम अस्पतालमा दन्त सेवा सुरु

अछाम । जिल्ला अस्पताल मंगलसैन अछाममा दाँत सम्बन्धीको सेवा सुरु भएको छ । विगत लामो समयदेखि सञ्चालनका लागि प्रयास गरिरहेको अस्पतालले हालै मात्र दाँतको समस्या भएका बिरामीका लागि सेवा सञ्चालन गर्न सकेको हो ।
दाँतको सेवा सुचारुका लागि भौतिक संरचना, आवश्यक सामाग्री र जनशक्ति व्यवस्थापन पनि सेवा सुरु भएको अस्पतालले जनाएको छ ।
अस्पताल आफैले सेवा सञ्चालन गरेपछि अछामका सेवाग्राहीलाई निकै टेवा पुग्ने जिल्ला अस्पताल अछामका डा.मनोष्ट बिष्टले बताउनुभयो ।
अस्पतालमा एक जना डेन्टल हाईजेनिष्टले नै नियमित रूपमा बिरामीका लागि सेवा दिने उहाँले बताउनुभयो । दाँतको प्राथमिक उपचारसहित किराले खाएको, भाँचिएको निकाल्ने, फोहोर सफा गर्ने लगायतका सेवा अब सरकारी अस्पतालबाट सेवाग्राहीले सरकारी मापदण्ड अनुसार छुटसहित सेवा पाउने भएका छन् ।
यसअघि जिल्ला अस्पतालमा दाँतको सेवा नहुँदा सेवाग्राहीले मंगलसेन र साँफेबगरका निजी क्लिनिकमा उपचार गराउनु पर्ने हुन्थ्यो भने बयालपाटा अस्पतालमा जानु पर्ने अवस्था रहेको थियो ।
अब जिल्ला अस्पतालमा सेवा सुरु भएकाले लामो समयदेखि समस्या भएका सबैलाई अस्पतालमै आउन डा. बिष्टले आग्रह गर्नु भएको छ ।
अस्पतालको लामो प्रयास सेवा सञ्चालन गर्न सफल भएकाले अछामीका लागि समेत खुसीको खबर भएको र सेवा लिनका लागि उहाँले आग्रह गर्नु भएको छ । गरिब, असहाय सहित विपन्न बर्गका लागि दाँतको उपचारका लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता अब हट्दै जाने उहाँले बताउनुभयो ।
उहाले हरेक नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै व्यवस्थित गर्दै जाने भएकाले नियमित सेवा लिन समेत आग्रह गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्