तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५ मा चिकित्सक र कर्मचारी गरी एक सय ८९ जना सङ्क्रमित

रुपन्देही । कोरोना महामारीको सङ्क्रमणबाट प्रदेश ५ मा फ्रन्टलाइनमा खटिने चिकित्सक र कर्मचारी गरी एक सय ८९ जना सङ्क्रमित भएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमध्ये सबैभन्दा धेरै रुपन्देहीमा ५२ जना रहेका छन् ।

रुपन्देहीमा १६ जना डाक्टर, १४ जना नर्स र २९ जना कर्मचारी गरी ५२ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो ।

रुपन्देहीपछि सबैभन्दा बढी बाँकेमा छन् । बाँकेमा सात डाक्टर, २० नर्स र १४ कर्मचारीसहित ४३ जनामा कोरोना सङ्क्रमित भएका छन् ।

त्यस्तै कपिलवस्तुमा तीन डाक्टर, चार नर्स र २९ कर्मचारीसहित ३६ जनामा कोरोना सङ्क्रमण रहेको डा. पौडेलले बताउनुभयो ।

त्यसै गरी दाङमा २८, नवलपरासीमा नौ, प्युठानमा नौ जना, अर्घाखाँचीमा तीन, गुल्मीमा एक, बर्दियामा आठ, चिकित्सक एवं कर्मचारी सङ्क्रमित भएका छन् ।

सङ्क्रमित हुनेहरू मध्ये सबै निजी र सरकारी अस्पतालका चिकित्सक एवं कर्मचारी हुन् ।

चिकित्सकमा नै सङ्क्रमण देखिए पनि प्रदेशका कुनै पनि अस्पतालले सेवा बन्द नगरेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

सङ्क्रमण देखिएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न लगाएर र अस्पतालहरूलाई सेनेटाइजर गराएर सेवा सुचारु गराइएको उहाँको भनाइ छ ।

सङ्क्रमित प्रदेश ५ का वरिष्ठ स्वास्थ्य प्रशासक डा.उमाशङ्कर चौधरी, लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेसु शल्य चिकित्सक डा.कृष्ण खनाललगायत तीन दर्जन सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button