तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका चार नगरपालिकामा शहरी सडक निर्माण गरिँदै

कञ्चनपुर । सुदूरपश्चिमका चार नगरपालिकामा शहरी सडक निर्माण गरिने भएको छ ।

सुदूरपश्चिम प्रदेशका चार नगरपालिकामा पौने तीन अर्व रुपैयाँ लगानीमा साढे ४५ किलोमिटर शहरी सडक निर्माण गरिने भएको हो ।

एसियाली विकास बैङ्क(एडिबी)को ऋण लगानीमा नेपाल सरकारले कञ्चनपुरको भीमदत्त र शुक्लाफँटा नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा दुई वर्षभित्र उक्त सडक निर्माण गर्न लागेको हो ।

क्षेत्रीय शहरी विकास आयोजना नामबाट चार वटै स्थानीय तहमा छुट्टाछुट्टै निर्माण कम्पनीसँग सम्झौता गरेर निर्माण प्रक्रिया अघि बढाइएको आयोजनाका उप–व्यवस्थापक श्यामकुमार बुढाथोकीले जानकारी दिनु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाभित्र साढे १४ किलोमिटर सडक, दुवैतिर नाली र फुटपाथ निर्माणका लागि जेडआइइसी/लामा जेभीले करिब एक अर्व रुपैयाँमा ठेक्का सम्झौता गरेको छ, जसअन्तर्गत मुख्य सडक र पाँच वटा गल्लीका सबै सडकमा नाली निर्माणसहित कालोपत्रे गरिने आयोजनाले बताएको छ ।

यस्तै कञ्चनपुरकै शुक्ल फाटा नगरपालिकाभित्र करिब पाच किलोमिटर सडक, आठ किलोमिटर नाली र फुटपाथ निर्माणका लागि रमण/केएस जेभीसँग २८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ ।

डेढ महिनाअघि गरिएको सम्झौता अनुरूप धेरै स्थानको सडक सर्भेको काम सम्पन्न भइसकेको आयोजना कार्यालय धनगढीले बताएको छ ।

चार वटै नगरपालिकाभित्र सुविधा सम्पन्न सडक, फोहोर मैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माणलगायत काम हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button