तपाईँ सुन्दै हुनुहुन्छः

लोपोन्मुख ३० राजीले घर पाउने

टीकापुर-कैलालीको भजनीमा लोपोन्मुख राजी समुदायका लागि घर निर्माण गरिने भएको छ । मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्र्तगत भजनीमा रहेका ३० परिवारले घर पाउने भएका हुन् ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०७७÷७८को स्वीकृत वार्षिक मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्तर्गत भजनी नगरपालिका–९ भुरुवा कैलालीको राजी बस्तीमा नमूना घर निर्माण गरिने नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिनुभयो ।

“नगरपालिकाले अतिविपन्न परिवार छनोट कार्य शुरु गरेको छ । अति आवश्यक रहेकाको घर निर्माण हुने भएको छ”, उहाँले भन्नुभयो । घर निर्माण हुने भएपछि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीको नेतृत्वमा आएको टोलीले बस्तीको अनुगमनसमेत गरेकोे छ । अनुगमनपश्चात मन्त्री चौधरीले अतिविपन्न, पछाडि परेको समुदाय, प्राकृतिक प्रकोपबाट घर पूर्ण क्षति भएका परिवारको घर मुख्य प्राथमिकतामा राखेर निर्माण गरिने बताउनुभयो ।

विपन्न राजीका घर निर्माण गर्न मुख्यमन्त्री एकीकृत नमूना बस्ती निर्माण कार्यक्रमको अवधारणा प्रदेश सरकारले ल्याएको मन्त्री चौधरीले बताउनुभयो ।

भजनीमा राजी बस्तीमा दुईकोठे पक्की भवन र शौचालयसहितको घर निर्माण हुने भएको छ । घर निर्माण हुने भएपछि राजी समुदायमा खुशीयाली छाएको छ । राजी अगुवा डम्बर राजीले वर्षौँदेखि खरको छानामा बस्न बाध्य राजी परिवार पक्की घर पाउने खबरले हर्षित भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button