मनाङको आइसोलेसनमा दुई सङ्क्रमित
मनाङ-कोभिड–१९ का सङ्क्रमित देशैभर बढ्दै गएको छ । कोभिड सङ्क्रमित निको हुने क्रम पनि बढ्दै गएको छ । लामो समयको अन्तरालमा मनाङमा सङ्क्रमित थपिएसँगै हाल दुई जना आइसोलेसनमा छन् । सङ्क्रमितहरुले उच्च मनोबल र सचेतना अपनाएपछि छिट्टै निको पनि भएका छन् ।
शुक्रबार तीन सङ्क्रमित निको भएसँगै जिल्लामा निको हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म जिल्लामा छ सङ्क्रमितमध्ये चार जना निको भइसकेका छन् ।
त्रिहत्तर जनाको पिसीआर परीक्षण गरिएको मध्ये गोरखाको आरुघाट–७ घर भई हाल मनाङमा कार्यरत एक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले जिल्लामा दुई सङ्क्रमित आइसोलेसनमा रहेको उहाँले बताउनुभयो । उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको आचार्यको भनाइ छ । यही भदौ १६ गते ७३ जनाको स्वाब नमूना सङ्कलन गरिएकामा ७२ जनाको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।
हालसम्म १९२ जनाको पिसीआर परीक्षण गरिएकोमा छ जनामा सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार आइसोलेसनमा रहेका सङ्क्रमितको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको आचार्यले बताउनुभयो । मनाङमा कोरोना सङ्क्रमण मुक्त भइसकेपछि पुनः सङ्क्रमण देखिएको हो । जिल्लामा सङ्क्रमण देखिन थालेपछि स्थानीयवासी भने त्रसित बनेका छन् ।
मनाङमा धेरैजसो शिक्षक, कामदार, कर्मचारी बाहिरी जिल्लाबाट आउने हुँदा सङ्क्रमण देखिएको हो । हालसम्म स्थानीयवासीमा भने सङ्क्रमण देखिएको छैन ।








प्रतिक्रिया राख्नुहोस्