दृष्टिविहिन दलित दम्पती समस्यामा
बैतडी-संसार हेर्ने आँखाको ज्योति नै गुमेपछि बैतडीमा एक दलित दम्पतीलाई जीवनयापन गर्न निकै सकस भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१ कलौनका ३५ वर्षीय मदन लुहार र २५ वर्र्षीया पार्वती लुहार दृष्टिविहीन छन् । दुई छोरा र एक छोरीका अभिभावकसमेत रहेको यो दम्पतिको विवाह १० वर्षअघि भएको थियो । त्यतिबेला पार्वतीको उमेर १५ वर्षको मात्र थियो ।
मदनको पहिली श्रीमतीको मृत्यु भएपछि पार्वतीलाई दोस्री श्रीमतीका रूपमा भित्र्याएका मदनले आफू पनि शारीरिकरूपमा अशक्त भएपछि आफूजस्तै जीवनसाथी खोजेको बताउनुभयो । मदन आँखा नदेख्नुका साथै कान पनि सुन्नुहुन्न । पार्वती पाँच वर्षको हुँदा दृष्टिविहीन बन्नुभएको थियो । सानै उमेरमा आमा समस्या रहेको र माइतीको आर्थिक अवस्था कमजोर भएका कारण आफूले उपचार गराउन नपाएको पार्वतीले बताउनुभयो । गरिबीका कारण सानै उमेरमा बिहे गरेकी पार्वतीको पीडा निकै दुःखदायी छ ।
दश वर्षको छोरा कक्षा ५ मा र छ वर्षकी छोरी कक्षा १ मा पढ्छन् । अर्को छोरा भर्खर छ महिनाको भयो । छोराछोरीको शिक्षादीक्षा र लालनपोषणका लागिसमेत समस्या भइरहेको उहाँले बताउनुभयो । अहिले छोराछोरी अलि ठूला भएकाले उनीहरुको सहारामा कामधन्दा तथा बाहिरभित्र जाने गरेको पार्वतीले बताउनुभयो ।
पछिल्लो समयमा छोराछोरीले हिँड्नका लागि सहारा दिँदा भविष्यमा उनीहरुले खान बस्न देलान् भन्ने आस जागेको उहाँले बताउनुभयो । पहिला त बाँच्न पनि निकै सकस भएकोले उतिबेलाको दुःख अहिले सम्झन नचाहेको उहाँले बताउनुभयो । आफूहरुलाई कसैले पनि नचिनेकाले सहयोग नगरिरहेको र गाउँलेले समेत हेला गर्ने गरेको उहाँले गुनासो गर्नुभयो ।
कहिलेकाहीँ त आफूलाई पिटेरसमेत जाने गरेकाले कसले किन पिट््यो भन्नेसमेत थाहा नपाउने गरेको उहाँको भनाइ छ । आफूजस्ता अपाङ्गता भएका नागरिकका लागि सरकारले पनि केही नगरेको उहाँको गुनासो छ । अहिले मदन र पार्वती दम्पतीले वार्षिकरूपमा अपाङ्गता भत्ता पाउँदै आएको छ । उनीहरुले वार्षिकरूपमा २४ हजार रुपयाँ भत्ता पाउने गरेका छन् । भत्ताको रकमले नै दैनिक छाक टार्नका जोहो गरिरहेका दम्पतीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्