तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार तथा जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो

फाइल तस्बिर

सप्तरी । भौतिक पूर्वाधार तथा जनशक्तिको अभावमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा त्यतिकै थन्किएका छन् ।

सप्तरीमा समुदाय स्तरमा नै कोरोना तथा अन्य जटिल रोगबाट पीडित बिरामीहरूलाई भेन्टिलेटर आवश्यक पर्दा उनीहरूलाई विराटनगर र धरान रेफर गरिँदै आएको छ ।

तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको पहलमा उपलब्ध गराएको चार थान भेन्टिलेटर तथा आइसियु उपकरण व्यवस्थापन र सञ्चालन गर्ने पूर्वाधार तथा जनशक्ति नभएका कारण त्यतिकै थन्किएका छन् ।

मुलुक कै सबैभन्दा बढी १ सय ७८ बेड भएको साइकृष्णा मेडिकल कलेजमा सञ्चालित आइसोलेसन कक्षमा भेन्टिलेटर र आइसियु सेवा उपलब्ध नहुँदा कोरोना सङ्क्रमित तथा अन्य जटिल प्रकृतिका रोगीहरूको उपचार हुन नसकी अकालमै ज्यान समेत जाने गरेको छ ।

जिल्लामा कोरोना सङ्क्रमणबाट हाल सम्म ८ जनाको ज्यान गइसकेको छ ती सबैको भेन्टिलेटर र आइसियु नभएका कारण अन्यत्र लैजानु र उपचारमा भएको ढिलाइले गर्दा ज्यान गएको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले बताउनु भयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रन्जित झाले जटिल समस्यामा पुगेका बिरामीहरूलाई भेन्टिलेटर र आइसियु अति आवश्यक रहे पनि त्यसको व्यवस्थापन नहुँदा अन्यत्र रेफर गर्नु परेको बाध्यता सुनाउनु भयो । उहाँले पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारलाई आग्रह गरिरहेको जानकारी दिनु भयो ।

सङ्क्रमणसँगै अस्पतालमा बिरामीले अकालमै ज्यान गुमाउनेको सङ्ख्या समेत बढ्दै जाँदा बिरामीको ज्यान जोगाउन अविलम्ब आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरी भेन्टिलेटर र आइसियु सेवा सञ्चालन गर्न स्थानीयहरूको माग रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button