तपाईँ सुन्दै हुनुहुन्छः

‘ढोरपाटनमा पहिरोपीडितका लागि एकीकृत बस्ती निर्माण गरिने’

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ढोरपाटन ९ भुजिखोला पहिरो पीडितहरुको लागि एकिकृत बस्ती निर्माण गर्ने गरी प्रदेश सरकार अगाडि बढ्ने बताउनु भएको छ ।

आज स्थलगत निरिक्षण तथा राहत वितरणको लागि घटना स्थल बोवाङ पुग्नुभएका मुख्यमन्त्री गुरुङले संघ सरकारले आवास निर्माणको लागि सहयोग गर्ने ३ लाखमा प्रदेश सरकारले थप्ने र स्थानीय सरकारको सहभागितामा एकीकृत बस्ती निर्माण गरिने बताउनु भएको छ ।

घटनास्थलमा मुख्यमन्त्री गुरुङ सहित आन्तरीक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, बागलुङबाट निर्वाचित गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा, चन्द्र बहादुर बुढा, खिमविक्रम शाहि लगाएत पुग्नुभएको थियो । घटनास्थलमा मुख्यमन्त्रीले मृतकका परिवारलाई प्रतिपरिवार ५० हजार तथा ४० परिवारलाई भाँडाकुँडा, टेन्ट लगाएतका सामाग्रि हस्तान्तरण गर्नुभएको थियो ।

पहिरो र बाढीमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । अहिले पनि २२ जना बढी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ । मृतक १५ मध्ये १३ जनाको मात्रै सनाखत भएको छ ।

बाढी र पहिरोका कारण ४ सय ४६ जना विस्थापित भएका छन् भने ७३ भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका छन् । बाढीले ७ किलोमिटर भन्दा बढी सालझण्डी ढोरपाटन सडक खण्डको भाग बगाएको छ ।

अहिले पनि नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानीयको टोलीद्धारा उद्धार कार्य चलिरहेको छ । घटनास्थल सदरमुकामबाट १ सय २५ किलोमिटर पश्चिममा पर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button