कर्णाली प्रदेशमा कार्यरत करार कर्मचारीको म्याद थपिँदै
सुर्खेत । कर्णाली प्रदेशमा कार्यरत करार कर्मचारीको म्याद थपिने भएको छ ।
प्रदेश सरकारले करारमा काम गर्ने स्वास्थ्य तथा साबिकको घरेलु तथा साना उद्योग विकास समितिका कर्मचारीहरूको करार अवधि थप्ने निर्णय गरेको हो ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथामका लागि नियुक्ति गरेका दुई सय ३४ स्वास्थ्यकर्मीको म्याद थप गर्न लागेको छ ।
त्यस्तै, साबिकको घरेलु उद्योग कार्यालयका करार कर्मचारीको पनि म्याद थपिने भएको छ । यही भदौ १५ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
कर्णालीका विभिन्न जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि खटिएका एक सय ७६ जना सामुदायिक नर्स (स्टाफ नर्स र अनमी) तथा प्रदेशका पाँच वटा नाकामा खटाइएका ३२ जना हेल्थ असिस्टेन्ट र २६ जना नर्स तथा अनमीहरुको करार अवधि समेत थप गरिने प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।
उहाँले बैठकमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ र कर्णाली प्रदेश विशेष कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७७ स्वीकृत गर्ने, प्राविधिक जनशक्ति सेवा करारमा छनोट गर्ने सम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०७७ स्वीकृत गर्ने लगायतका निर्णय समेत भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्