कोरोनाको सङ्क्रमण न्यूनीकरणका लागि सातामा दुई दिन निषेधाज्ञा

बाँके । पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि बाँके प्रशासनले कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि नयाँ विधि अपनाएको छ । सो विधि अनुसार हप्तामा दुई दिन शुक्रवार र शनिवार निषेधाज्ञा लगाइएको छ । आज देखि सुरु भएको यो साताको २ दिने निषेधाज्ञा अवधिभर कुनै पनि सवारी साधन चल्न पाउने छैनन् भने आम सर्वसाधारणलाई घरदेखि बाहिर निस्कन दिइने छैन ।
दुई दिनको निषेधाज्ञाको विधि अपनाएको बाँके प्रशासनले शुक्रवार र शनिवार सर्वसाधारणको उल्लेख्य भिड लाग्ने हुँदा यी दुई दिन कडाइका साथ अघि बढेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताउनुभयो ।
उहाँका अनुसार अत्यावश्यक कामबाहेक घरबाहिर निस्कने वा बाँके प्रशासनले जारी गरेको सूचनालाई अवज्ञा गर्ने जो कोहीलाई तत्काल सङ्क्रामक रोग निवारण ऐन अन्तरगत कारबाही गरिनेछ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको भदौ १५ गते बसेको बैठकले हप्तामा दुई दिन निषेधाज्ञा लगाउने निर्णय गरेको हो । तर, यो निषेधाज्ञा यसअघि सर्वसाधारणको सहजताका लागि दिइएको भन्दा पृथक् रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘हप्ताको दुई दिन शुक्रवार र शनिवार जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा लगाइने छ । यो अवधिमा पसल व्यवसायदेखि सबै कुरा ठप्प पारिनेछ ।’ पछिल्लो समय बाँकेमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागिरहनु र मृतकको सङ्ख्या बढेर जाँदा सर्वसाधारणको उपस्थिति नियन्त्रणका लागि यो विधि अपनाइएको हो ।
प्रजिअ कुरुम्वाङ्गले भन्नुभयो ‘हप्ताको दुई दिन पूर्णरुपमा बन्द गर्दा केही कन्ट्रोल हुने आङ्कलन गरेका छौँ यसको अर्थ अन्य दिन भिडभाड गर्ने र मनपरी गर्ने भने होइन ।’ कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका विषयमा छलफल हुँदा यो विधि अपनाउने निर्णय भएको हो । सोही निर्णय अनुरूप आजदेखि निषेधाज्ञा सुरु भएको छ ।
जिल्लामा कोरोना भाइरस सङ्क्रमणको अवस्था झन् जटिल बन्न सक्ने आङ्कलन गर्दै प्रजिअ कुरुम्वाङ्गले भने–‘सावधानी, उच्च सतर्कता र स्वास्थ्य सम्बन्धी मापदण्डलाई पूर्णरुपमा पालना गर्ने व्यक्ति नै सुरक्षित हुन्छ । तर, यसका विरुद्ध जानेले सबैलाई सङ्कटमा पार्न सक्छन् ।’
लगातार कोरोना सङ्क्रमणको दर उकालो लागि रहँदा बाँकेको नेपालगन्ज र कोहलपुर कोरोनाको हटस्पट बन्दै गएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट प्राप्त रिर्पोटका आधारमा बाँकेको नेपालगन्ज र कोहलपुरमा लगातार कोरोना सङ्क्रमित व्यक्तिहरू भेटिन थालेका छन् ।
यसले बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको पुष्टि गरेको छ । यद्यपि बाँकेका अन्य पालिकामा पनि कोरोना भाइरस सङ्क्रमितहरू भेटिन थालेका छन् । यो दर बिस्तारै उकालो लागि रहेको छ । हालसम्म बाँके जिल्लामा कोरोना भाइरस सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।







प्रतिक्रिया राख्नुहोस्