आमा बाबुको मृत्युपछि चार बालबालिकाको बिचल्ली

दोलखा । झण्डै एक बर्ष अघि कालिञ्चोक गाँउपालिका वडा नम्बर १ बेगुम्पाका युवा गणेश थामीले ऋण तिर्न नसकेकै कारण ३५ बर्षकै उमेरमा आत्महत्या गरे । तीनै गणेश थामीको श्रीमती अमृता थामीको विहिवार चरिकोटको सामुदायीक अस्पतालमा उपचारको क्रममा ३८ बर्षको उमेरमा मृत्यु भएपछि अहिले उनीहरुको चार छोराछोरीको बिचल्ली भएको छ ।
छोरा छोरीको उज्ज्वल भविष्यको कल्पना गर्दै बेगुम्पाबाट केहि बर्ष अघि सदरमुकाम चरिकोट झरेका थामी दम्पतिको गुजारा केहि समय मजदुरी गरेरै चलेको थियो । तर ऋण थपिदै गएपछि त्यसैको पीडाले गणेशले आत्महत्या गरेपछि अमृताले अरुको भाँडा माझेरै एक छोरा र तीन छोरीलाई पालन पोषण गरिरहेकी थिईन । विरामी भएर आमाको समेत मृत्यु भएपछि अहिले आफुहरुको बिचल्ली भएको जेठि छोरी सुष्मीता थामीले बताईन ।
बेगुम्पाबाट चरिकोट झरेपछि उनीहरुले भीमेश्वर नगरपालिका वडा नम्बर ६ फुलवारीमा भुकम्प पीडितको रकमले सानो घर बनाएका थिए । श्रीमानले आत्महत्या गरेपछि घरमा ऋण माग्न आउनेको घुईचो बढ्ेकोले अमृताले केहि समय घरनै छोड्नु परेको छिमेकीले बताएका छन् ।
उनीहरुले घर निर्माण र छोराछोरीको पालन पोषणको लागि मेघा बैङ्कबाट लिएको एक लाख ३० हजार ऋण युवा व्यवसायी तथा समाजसेवी प्रभुराम श्रेष्ठले तिरिदिने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यसैगरी युवा राजनीतिज्ञ एवं समाजसेवी सोवित उप्रेतीले बालबालिकाको सहयोगको लागि २५ हजार रुपैया सहयोग गरेका छन् ।
बुबाले एक बर्ष अघिनै आत्महत्या गरेको र आमाको समेत मृत्यु भएपछि चार जना बालबालिकाको बिचल्ली भएको खबर सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि उद्योगी, व्यवसायी, राष्ट्रसेवक कर्मचारी, राजनीतिज्ञ, पत्रकार लगायतले सहयोग गरिरहेको पत्रकार गोकर्ण भण्डारीले जानकारी दिए ।
थामी दम्पितिको १४ बर्षको जेठि छोरी सुष्मीता थामी, १२ बर्षको माईली छोरी सुजता थामी, सात बर्षको कान्छी छोरी सुनीता थामी र दुई बर्षको छोरा आशीष थामी रहेको छिमेकीले बताएका छन् । बाबु आमा गुमाएका उनीहरुलाई तत्काललाई सहयोग जुटेपनि ठूलो नहुदासम्म संस्थागत सहयोग जुटाउन समेत पहल हुनुपर्ने छिमेकीहरु बताउछन् ।








प्रतिक्रिया राख्नुहोस्