बारा, पर्सा र रौतहटमा यसबर्ष धान उत्पादन बढ्ने कृषि विज्ञको दाबी

वीरगन्ज । समयमा पर्याप्त वर्षा र बढी क्षेत्रफलमा रोपाइँ भएको कारण यसबर्ष बारा, पर्सा र रौतहट लगायत प्रदेश २ मा धान उत्पादनमा वृद्धि हुने कृषिबिज्ञहरुले बताएका छन् ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानिपुरका धानबाली विज्ञहरूले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरेका छन् ।
बारा, पर्सा, रौतहट र सर्लाही लगायत प्रदेश २ मा यस वर्ष पर्याप्त मात्रामा वर्षा भएको र धान खेतीयोग्य भूभागको ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हुँदा यसबर्ष धानको उत्पादनमा वृद्धि हुने कृषीज्ञान केन्द्र पर्साका प्रमुख डाक्टर रामचन्द्र यादवले बताउनुभयो ।
यस पटक धान बालीमा किरा वा अन्य रोगको संक्रमण पनि कम देखिएको हुँदा गतबर्षको तुलनामा धान उत्पादन १५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको डाक्टर यादवले बताउनुभयो ।
यसबर्ष प्रदेश २ मा करिब करिब ४ लाख हेक्टर जमिनमा धान खेती भएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानिपुरले जनाएको छ । गत वर्ष प्रदेश २ मा ३ लाख ५७ हजार हेक्टर जमिनमा धान खेती भएको थियो । यसबर्ष करिब ५५ हजार हेक्टर जमिनमा प्रदेश २ मा चैते धान खेती गरिएकोमा चैते धान बालीको उत्पादन समेत राम्रो भएको कृषीबिज्ञहरुले बताएका छन् ।
कृषीज्ञान केन्द्र पर्साका प्रमुख रामचन्द्र यादवले गतबर्ष प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिक टन धान उत्पादन भएकोमा यसबर्ष सबै कुला अनुकूल हुँदा प्रतिहेक्टर ३ दशमलव ७ मेट्रिक टन देखी ४ मेट्रिक टन सम्म धान उत्पादन हुने अनुमान गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्