तपाईँ सुन्दै हुनुहुन्छः

प्लाज्मा थेरापी कोरोना सङ्क्रमितको उपचारका लागि सकारात्मक

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वा औषधि आइ नसकेको अवस्थामा प्लाज्मा थेरापी सङ्क्रमितको उपचारका लागि सकारात्मक देखिएको छ ।

नेपालका विभिन्न २२ वटा शिक्षण अस्पतालमा गरेको अनुसन्धानले कोरोना सङ्क्रमितको उपचारका लागि प्लाज्मा थेरापी सकारात्मक देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

विश्वमा हालै गरिएको अध्ययन अनुसार प्लाज्मा दिएका मध्ये ५७ प्रतिशत कोरोना सङ्क्रमित निको भएको पाइएपछि नेपालमा पनि सुरु गरिएको प्लाज्मा थेरापी देशभरका विभिन्न २२ वटा शिक्षण अस्पतालमा परीक्षण भइरहेको छ ।

कोरोना भाइरस सङ्क्रमण भई निको भएका व्यक्तिको रगत अन्य बिरामीलाई दिएर गरिने उपचार विधि प्लाज्मा थेरापीबाट नेपालमा हालसम्म ४५ जना निको भइसकेकाले कोरोना सङ्क्रमितहरूको उपचारमा अपनाइएको प्लाज्मा थेरापी सकारात्मक र आशालाग्दो भएको परिषद्ले जनाएको छ ।

परिषद्का सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले कोरोना भाइरस विरुद्धको खोप वा औषधि आइ नसकेको अवस्थामा विकल्पका रूपमा अपनाएको प्लाज्मा थेरापी सकारात्मक देखिएको बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमणमुक्त व्यक्तिबाट दुई हप्तापछि लिएको रगतमा भएको प्लाज्मा सामान्य रूपमा ब्लड बैङ्कमार्फत छुट्यापछि अन्य सङ्क्रमितमा प्रयोग गर्ने गरिन्छ ।

आइसियुमा रहेको र बढी सिरियस भएका बिरामीलाई प्लाज्मा थेरापीमार्फत प्लाज्मामा भएको एन्टिवडिले कोरोना भाइरसलाई परास्त गर्ने डा. ज्ञवालीको भनाई छ ।

१८ वर्ष उमेर माथिका सङ्क्रमणमुक्त व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । कोरोना सङ्क्रमणमुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो । रगतबाट रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा हो । छुट्याइएको प्लाज्मा सङ्क्रमितलाई दिने विधि प्लाज्मा थेरापी भएकाले प्लाज्मा थेरापीका लागि रगत दिँदा र लिँदा दुवैलाई कुनै असर नपर्ने बरु उपचारमा सहयोग पुग्ने यसले डा. ज्ञवाली बताउनुहुन्छ ।

एक सङ्क्रमणमुक्त व्यक्तिबाट लिएको रगतबाट दुई जनालाई प्लाज्मा थेरापी गर्न सकिन्छ । जुन रगत निकालेर प्लाज्मा छुट्याइन्छ र सङ्क्रमित व्यक्तिलाई दिइन्छ । डा. ज्ञवालीका अनुसार त्रि वि शिक्षण अस्पतालमा पछिल्लो समय सिधै प्लाज्मा निकाल्ने प्रविधि ल्याइएको र त्यसमार्फत निकालिएको खण्डमा तीन जनासम्मलाई प्लाज्मा दिन सकिन्छ ।

प्लाज्मा थेरापी उपचार विधि नेपालमा शिक्षण अस्पतालहरूमा मात्र उपलब्ध छ । यस्तो उपचार विधि चिकित्सक र प्रविधि, ब्लड बैङ्कको सुविधा उपलब्ध भए अनुमति लिएर अन्य अस्पतालहरूमा पनि सुरु गर्न सकिने परिषद्ले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button