तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाले निजी विद्यालय बन्द भएपछि बाख्रा–कुखुरा पाल्दै सञ्चालकहरू

कञ्चनपुर । कोरोनाका कारण निजी विद्यालय बन्द भएपछि सञ्चालकहरू घर व्यवहार चलाउन वैकल्पिक व्यवसाय सुरु गर्न थालेका छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा घर खर्च समेत चलाउन धौ धौ भएपछि वैकल्पिक व्यवसाय सुरु गर्ने धेरै छन् । पुनर्वास नगरपालिका –८ ‘क’ गाउँका पुष्पराज ओझाले घर नजिकै ब्रोइलर कुखुरा पालन सुरु गरेका छन् । उनी फार्म दर्ता गरेर यही व्यवसायलाई निरन्तरता दिने सोचमा पुगेका छन् । उनले साउनमा पहिलो लटमा १ हजार ब्रोइलर कुखुरा हालेका छन् । ओझा घर नजिकै २०६६ देखि अलंकार पब्लिक स्कुल सञ्चालन गर्दै आएका थिए । साढे ३ सय विद्यार्थी रहेको उनको विद्यालयमा १६ जना शिक्षक कर्मचारी थिए । चैतदेखि विद्यालयहरू बन्द भएपछि गत वर्षकै शुल्क समेत नउठेको उनले बताए ।

बेलौरी नगरपालिका ४ शान्तिपुरको उग्रतारा वाल विद्यालयका सञ्चालक नरेश्वर अधिकारीले पनि बाख्रा र कुखुरा पालनको काम सुरु गरेका छन् । उनले वैशाखदेखि नै उक्त काम सुरु गरेका हुन । उनले पहिलो चरणमा १५ बाख्रा र ६० स्थानीय जातका कुखुरा पाल्न सुरु गरेका छन् ्। २०७१ मा स्थापना भएको उनको विद्यालयमा ४ सय बढी विद्यार्थी थिए । शिक्षक कर्मचारीसहित २३ जनाले रोजगारी पाएका थिए । अहिले सञ्चालक आफै बेरोजगार भएका छन् । गत शैक्षिक सत्रकै शुल्क नउठ्दा समस्या भएको अधिकारी बताउँछन् ।

कोरोनाको महामारी अझै कति लम्बिने हो निश्चित छैन । त्यही भएर तत्काल विद्यालय सञ्चालन हुने सम्भावना पनि छैन । कञ्चनपुरमा प्याब्सन र एनप्याब्सन अन्तरगत गरी २ सय बढी निजी विद्यालयहरू छन् । पुनर्वास र बेलौरीमा झैँ अन्य विद्यालयका सञ्चालकहरू पनि वैकल्पिक व्यवसायतिर लाग्न थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button