सिटिहलको निर्माण असोजबाट
चितवन-भरतपुर महानगरपालिकाको महत्वपूर्ण परियोजना सिटिहलको निर्माण आउँदो महिनाबाट थालिने भएको छ । भरतपुर महानगरपालिका–१० मा अत्याधुनिक सिटिहलको निर्माण गर्न लागिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरले सिटिहल निर्माणका लागि ठेकेदार छनौट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
सिटिहल निर्माणका लागि आह्वान गरिएको बोलपत्रको प्राविधिक प्रस्ताव अनुमोदन भइसकेको छ । बोलपत्रमा १५ ठेकेदार कम्पनी सहभागी भएका थिए । तीमध्ये छनौटमा परेका पाँचवटा कम्पनीको आर्थिक प्रस्ताव मुल्याङ्कन गरी शहरी तथा भवन निर्माण विभागमा सोमबार पठाइएको आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो ।
विभागबाट अन्तिम स्वीकृत भएलगत्तै कामका लागि छनोट भएका ठेकेदार कम्पनीलाई एक साताको सूचना जारी गरेर दावी विरोध नभएमा १५ दिनभित्र बोलाएर काम शुरुआत गर्न लगाइने उहाँको भनाइ छ । यी सबै प्रक्रिया सम्पन्न गरी असोजबाट निर्माण शुरु गर्न सकिने भएको छ । सम्झौता मितिको २७ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ ।
बोलपत्र रकम मूल्य अभिवृद्धि करबाहेक रु एक अर्ब छ करोडको रहेको छ । आर्थिक प्रस्ताव विभागबाट अनुमोदन भइनसकेकाले के कतिमा बोलपत्र सदर हुन्छ भन्ने बारेमा आयोजनाले नजनाए पनि लागत अनुमानभन्दा कममा बोलपत्र प्रस्ताव गरिएको जनाइएको छ । विभागका महानिर्देशक मणिराम गेलालले आर्थिक प्रस्ताव आफूले तोक लगाएर अघि बढाइसकेको जानकारी दिनुभयो ।
यस लगत्तै सामग्री पाएमा काम अघि बढ्ने उहाँको भनाइ छ । भरतपुर महानगरको गौरवको रूपमा सभाहललाई लिइएको छ । चार बिघा जमिनमा निर्माण गर्न लागिएको सभाहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने अर्यालले जानकारी दिनुभयो ।
चारवटा भर्याङ्ग, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा फैलिएको उहाँको भनाइ छ । भरतपुर महानगर प्रमुख रेनु दाहाल निर्वाचित भएदेखि नै सभाहलका लागि जुट्नु भएको हो ।
दाहालले भदौ अन्तिम साताबाट काम थाल्ने तयारी गरेको भए पनि आसोज लाग्न सक्ने बताउनुभयो । यसले स्वदेश र विदेशमा चिनाउने उहाँको विश्वास छ । अत्याधुनिक र सुविधासम्पन्न हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्न सहज हुने दाहालको भनाइ छ ।
जिल्लामा ठूलो सिटिहल निर्माणका लागि यहीँबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको निरन्तर प्रयास सफल भएको उहाँले बताउनुभयो । जिल्लाको विकासमा सिटिहल कोसेढुङ्गा हुने विश्वास लिइएको छ । ठूला कार्यक्रम गर्ने ठाउँको अभावमा देशकै केन्द्रविन्दु भएर पनि यहाँ हुन सकेका थिएनन् ।
महानगर प्रमुख दाहालले शुरुमा गरिएको नक्साङ्गकनमा अरु धेरै संरचना भए पनि पछि केही घटाइएको बताउनुभयो । शुरुमा रु दुई अर्ब लाग्ने गरी नक्साङ्गकन गरिएको थियो । संरचना क्रमशः थप्दै लगिने उहाँले जानकारी दिनुभयो । जिल्लाबासीको सकारात्मक सहयोगले गर्दा पनि यो महत्वपूर्ण परियोजना शुरु गर्न सकिएको दाहालको ठम्याइ छ ।








प्रतिक्रिया राख्नुहोस्