नागरिककै अटेरीले जुम्लामा संक्रमण बढ्यो,थप ४० जनामा कोरोना संक्रमण

जुम्ला । जुम्लामा नागरिककै लापरबाहीका कारण समुदाय स्तरमै कोरोना संक्रमण भयावह बन्दै गएको छ ।
प्रशासनले जारी गरेको निर्देशनको पालना नगरी भेला हुने, धार्मिक मेला गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउने गरेकै कारण पछिल्लो समय जुम्लाका आठै स्थानीय तहका गाउँ बस्तीमा कोरोना संक्रमण फैलिएको छ ।
प्रहरी प्रशासनले नागरिकलाई कोरोना सङ्क्रमणबाट बचाउन हर प्रयास गरे पनि नागरिकले कोरोनालाई सामान्यरुपमा लिने, धार्मिक मेला महोत्सव गर्ने,भिडभाड गर्ने गर्दा कोरोना जिल्ला भरी फैलिएको कर्णाली स्वास्थ्य प्रतिष्ठान अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताउनु भयो ।
मङ्गलवार गरिएको पिसिआर परीक्षणमा जुम्लाका ४० जना सहित ५९ मा कोरोना पोजेटिभ देखिएको छ । जसमा १९ जना कालिकोटका रहेका छन् । डाक्टर रावलले भन्नुभयो,“हामी गाउँ गाउँमा गएर कति पटक अनुरोध गर्यौ, तर नागरिककै अटेरी र लापरबाहीले गर्दा लगभग सबै बस्तीमा कोरोना फैलिसकेको छ ।”

मङ्गलवार चन्दननाथ नगरपालिकामा १६ जना, जुम्ला कारागारका १० जना, नेपाल विधुत प्राधिकरणका कर्मचारी ४ जना , तिला २ जना, तातोपानीका २ जना, सिञ्जाका १ जना, पातारासीका १ जना, कनकासुन्दरी गाउँपालिका १ जना, पेश नेपालका कर्मचारी एक जना, कृषि कार्यालयका १ जना गरी ४० जनामा एकै दिन कोरोना संक्रमण देखिएको छ । यसै गरी कालिकोटका १९ जना मध्ये तिला गुफाँका नगरपालिका २ का धेरै जसोमा संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ । यसै गरी सङ्क्रमित हुनेमा धेरै जसो जुम्लाका चन्दननाथ स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले जुम्ला सदरमुकाम उच्च जोखिममा रहेको बताइन्छ ।
यहाँको कनकासुन्दरी गाउँपालिकाकामा भने सयौँको सङ्ख्यामा भेला गरेर धार्मिक मेला समेत गरेको पाइएको छ । प्रशासनको निर्देशनलाई अटेरी गरी गरिएको धार्मिक मेलाले समुदायमा कोरोना सङ्क्रमणको जोखिम बढेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनु भयो । प्रहरीले टोल टोलमा माइकिङ गर्दा, सूचना जारी गर्दा पनि नागरिकको अटेरीले गर्दा कोरोना सङ्क्रमणले ठुलो रूप लिएको प्रजिअ थापाको भनाई छ । आठै स्थानीय तहमा फैलिएको कोरोनालाई रोकथाम तथा नियन्त्रणका लागि बुधवार बिहान विपद् व्यवस्थापनको बैठक बोलाइएको छ । सङ्क्रमित सबैलाई कर्णाली स्वास्थ्य विज्ञान स्थित आइसोलेसनमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्