तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोपीडितलाई राहत वितरण

दमौली-गत असार २९ गते र त्यसपछि परेको वर्षाले घर भत्किएकालाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत वितरण गरेको छ । सबै वडाबाट घर भत्किनेको विवरण सङ्कलन गरेर गाउँपालिकाले राहत रकम वितरण गरेको हो । गाउँपालिकाले छ वटै वडाका पहिरोपीडितलाई रु छ लाख ६५ हजार राहत रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

पहिरोले बन्दीपुर–१ मा ३४ घर पूर्ण जोखिममा र १९ घर आंशिक जोखिममा छन् । उक्त वडाका ९१ कृषकले बाढीले खेत बगर भएको भन्दै वडा कार्यालयमा निवेदन दिएका छन् । त्यस्तै उक्त वडाका खानेपानीको मूल, मोटरमार्ग, चक्रपथलगायतमा पनि क्षति पुगेको छ । वडा नं २ मा ३७, ३ मा ३९, ४ मा ३५, ५ मा ३७ र ६ मा १९ जनाले घर, गोठ र खेत क्षति भएको भन्दै निवेदन दिएका छन् ।

मिर्गौलापीडित युवालाई सहयोग जुट्दै तनहुँको व्यास नगरपालिका–१४ निवासी दुवै मिर्गौलापीडित सन्तोष रानाको उपचारमा सहयोग पुुर्याउन रु एक लाख ३२ हजार ५२० सहयोग जुटेको छ । बाराही युवा क्लबका अध्यक्ष खष्टिराम थापाको संयोजनमा ‘सन्तोष राना बचाउन अभियान’मार्फत उक्त रकम जुटेको हो । सोही वडाको विभिन्न ठाउँमा स्थायी घर भई हाल विदेशमा रहेकाहरुको सहयोगमा सङ्कलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले पोखरास्थित फिस्टेल हस्पिटलमा डायलासिस गर्दै आउनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि करीब रु २० देखि २२ लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएपछि रानाले सबैसँग सहयोगको याचना गर्नुभएको छ ।  बिरामी भएर उपचार गर्दा दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लागेको थियो । हाल उहाँले हप्ताको दुई दिन डायलासिस गर्नुपर्छ । मिर्गौला प्रत्यारोपणका लागि पोखरामा सम्भव नभएकाले काठमाडौँ जानुपर्ने चिकित्सकले बताएका छन् ।  मिर्गौलापीडित रानाको उपचारका लागि उहाँकी आमा सुकुमाया रानाको नाममा एसबीआई बैंकमा (खाता नं ००७००७२०६०००५६७६७०००००१) खाता खोलिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button