तपाईँ सुन्दै हुनुहुन्छः

मंगलबार रुपन्देहीमा थपिए ७३ संक्रमित

रुपन्देही । रुपन्देहीमा मंगलबार ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीको अध्यावधिक तथ्याङ्कअनुसार साँढे ४ बजेसम्म जिल्लामा ३० महिला र ४३ पुरुष गरी ७३ जनामा कोरोना पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या १ हजार ७४ पुगेको छ ।

आज थप भएकाहरु मध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाका रहेका छन् । बुटवलमा २१ पुरुष र १० महिला गरी ३१ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयको भनाइ छ ।

त्यस्तै तिलोत्तमा नगरपालिकामा २० जना, रोहिणी गाउँपालिकामा १५ जना, सिद्धार्थनगर नगरपालिकामा ५ जना, सियारी गाउँपालिका र देवदह नगरपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

बुटवलमा थप भएका ३१ जनामध्ये ११ जना इलाका प्रहरी कार्यालय बुटवलका प्रहरीहरु हुन् । यसअघि १५ जना थुनुवा र ४ जना प्रहरीमा भदौ १० गते कोरोना पुष्टि भएको थियो । यो संगै इलाका प्रहरी कार्यालयमा संक्रमितको संख्या ३० पुगेको छ ।

थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा सोमबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

स्वाव संकलन गरेर पठाइएकामध्ये १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजेटिभ आएको र अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक प्रतित सिंह राठौरले प्रहरी जवानदेखि जुनियर अधिकृतसम्मका २४ जनाको स्वाब संकलन गरिएकोमा १९ जनाको परिक्षण गर्दा ११ जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो ।

त्यस्तै रोहिणी गाउँपालिकामा आज थप भएका १५ जना सवै रोहिणी–३, धकधइ चैनपुरका सञ्जय कुमार मिश्रको दाहासंस्कार गएका मलामीहरु र परिवारका सदस्यहरु हुन् ।

दाहसंस्कार गर्न पुगेका १० जना मलामीहरुसहित १५ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button