तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाका कारण वागवानीका उच्च घनत्व स्याउ स्वाहा

सोलुखुम्बु । लगातारको वर्षाका कारण सोलुखुम्बुमा रहेको वागवानी केन्द्र फाप्लुमा उच्च घनत्व स्याउमा असर परेको छ ।

माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङका कृषकलाई वागवानी प्रविधि विस्तारका लागि सञ्चालनमा रहेको वागवानी केन्द्रले केही वर्षयता लगाएको उच्च घनत्व स्याउ यस वर्ष पानीकै कारण कामै नलाग्ने भएका छन् ।

फलको बृद्धि विकासका लागि आवश्यक तापक्रम नपुगेका कारण उत्पादनमा गिरावट आएको निमित्त वरिष्ठ वागवानी विकास अधिकृत उपेन्द्र ठाकुरले बताउनुभयो । लगातारको पानीकै कारण बल्लतल्ल लागेको फल पनि सानो र स्याउका दाना फुटेका छन् ।

स्याउका ठूला बोटमा फल लाग्ने क्रम पातलिदैँ गएपछि उच्च घनत्वको स्याउ खेती विस्तार गरेको वागवानीले पानी र असिनाका कारण क्षति व्यहोर्नुपरेको हो । परीक्षणका रुपमा इटालीबाट विरुवा ल्याएर खेती गरिएको स्वादिलो मानिने उच्च घनत्व स्याउ रोपेको एक वर्षमा राम्रो फल्न थाले थियो ।

सोलुखुम्बुको वागवानी केन्द्र फाप्लु तथा अन्य निजी जग्गामा अघिल्लो वर्ष रोपेको यो खालको स्याउको फल यस वर्ष स्वाहा भएको वरिष्ठ वागवानी विकास अधिकृत ठाकुरको भनाइ छ ।

वागवानी केन्द्र फाप्लुमा करिब तीन सय विरुवा रोपेको र सबै विरुवाले फल दिन थालेका थिए । जिल्लाभरीमा करिब दुई हजार पाँच सय विरुवा रोपिएका छन् । नयाँ प्रविधिको स्याउ राम्रो भइरहेको बेला यस वर्ष झरीका कारण बिग्रिएको हो ।

इटालीबाट प्रतिगोटा दुई हजारसम्म परेका स्याउका विरुवा गोल्डेन, रोयल र फुजी जातका स्याउ रोपिएको छ । यो स्याउको बिरुवाको करिब २७ वर्ष आयु हुने र चार वर्षपछि एक बोटमा ४२ किलो स्याउ फल्ने बताइएको भए पनि यस वर्ष वागवानी तथा अन्य किसानलाई समेत निराश बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button