बाढी पहिरोबाट कालिकोटमा यस वर्ष ४२ को मृत्यु, २० करोडको क्षति

जुम्ला । कालिकोट जिल्लामा यस वर्ष बाढी पहिरोबाट ४२ जनाले ज्यान गुमाएका छन् । साउन, भदौको दुई महिना गरी मङ्गलवार सम्मको तथ्याङ्कलाई हेर्दा कालिकोटमा मात्रै ४२ जनाको मृत्यु भएको कालिकोटका डिएसपी श्याल ओलियाले जानकारी दिनुभयो । उहाँका अनुसार यही आइतबार नाग्म बजारको पहिरोमा परी ज्यान गुमाएका १० जना बाहेक ३२ जनाले अघिल्ला पहिरो तथा बाढीमा परि ज्यान गुमाएका थिए । प्राकृतिक प्रकोपबाट कालिकोट जिल्लाले एक दशक यताकै सबैभन्दा ठुलो मानवीय तथा भौतिक क्षति व्यहोर्नु परेको हो ।
भिरालो पाखो जमिन र त्यसै माथि हुने खेतीपाती तथा खोलाका कारण कालिकोटमा वर्षेनि बाढी पहिरो जान्छ । विगतका वर्षको तुलनामा भने यस वर्ष ठुलो क्षति भएको छ । निरन्तर भएको भारी वर्षा र खोला बढेर आएको बाढीले कालिकोट जिल्लालाई तहस नहसनै गरेको छ ।
स्थानीय पंख बहादुर शाहि भन्छन,“हामी पनि धौधौले बाच्यौ, कालिकोटका कुनै स्थानीयतह गाउँ बस्ती पहिरोको जोखिमबाट अछुतो छैनन् । सरकारले दिने भनेको राहत पनि अहिले सम्म पुगेको छैन् ।” मर्ने मरेर गएपनि बाच्नेलाई जिउने आधार नमिल्ने उनको गुनासो छ ।
बाढी पहिरोले घर बगाएका पीडितका छाप्रो अझै बनेका छैनन् । मुख्यमन्त्रीले तत्कालै घर बनाई दिने, मृत्तकका परिवारलाई जनही १/१ लाख राहत दिने घोषणा गर्नुभएको थियो । तर अहिले सम्म पीडित परिवारले पाउन नसकेको स्थानीय संचारकर्मी हस्ता चौलागाईले बताउनुभयो ।

४२ जनाले गुमाए ज्यान
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको त्रास खेपिरहेका कालिकोटका स्थानीयले यस वर्ष अर्को शोक पनि खेप्नु परेको छ । जसोतसो कोरोना संक्रमणबाट बचेपनि कालिकोटका ४२ जना भने प्राकृतिक प्रकोपबाट आफुलाई बचाउन सकेनन् । एकदुई गर्दै सोमबार सम्मको तथ्यांक हेर्दा ४२ जनाले बाढी पहिरो, बगेर ज्यान गुमाएका छन् । भने ७ जना अहिले सम्म बेपत्ता रहेका छन् जसको खोजी कार्य जारी छ ।
कालिकोटका डिएसपी श्याम ओलियाका अनुसार आइतबार जुम्ला र कालिकोट सिमा नाग्म बजारमा गएको पहिरो भन्दा पहिले मात्रै ३२ जनाको मृत्यु भएको छ । भने नाग्म बजारको पहिरोमा पुरिएर १० जनाको मत्यु भएको छ । जसमा महाँवै गाँउपालिका–३ नकुमा पहिरो जाँदा दुई परिवारका ६ जनाको घटनास्थलमै मृत्यु थियो । महाँवै गाउँपालिका ३ का वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिएको हो । रजबहादुर बिष्टका २ छोरा २ छोरी र दाजु डिलबहादुर बिष्टका २ छोरीको मृत्यु हो ।
मृत्यु हुनेमा रजबहादुर बिष्टका छोरा १३ वर्षीय पुष्प बिष्ट, ११ वर्षीय प्रविण बिष्ट, छोरीहरु १८ वर्षीया सबिना बिष्ट, १५ वर्षीया आशा बिष्ट रहेका छन् । भने, त्यसैगरी रजबहादुरका दाजु डिलबहादुर बिष्टकी छोरी १९ वर्षीया कान्ती बिष्ट र १० वर्षीया रेखा बिष्टको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
साथै साउन दोस्रो हप्तातिर आएको बाढी पहिरोमा परी १९ जनाले ज्यान गुमाए । डिएसपी श्याल ओलियाले भने,“साउन १४ गते कालिकोटको नरहरीनाथ गाउँपालिकाको ७ बागामा पहिरो जाँदा एकै परिवारका ७ जना सहित नौ जनाको मृत्यु भयो । मृत्यु हुनेमा बाँगाका ६२ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६२ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी उषा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा,१८ वर्षिय विमला बुढा र डेढ वर्षीय चरित्र बुढा गरी एकै परिपारका ७ जनाको मृत्यु भएको थियो ।” यस्तै नरहरीनाथ गाउँपालिका ४ गोठीमा पहिरो जाँदा बले बुढा उनकी श्रीमती मुना बुढाको घटनास्थलमै मृत्यु भयो ।
आइतबार कर्णाली राजमार्गमा पर्ने जुम्ला र कालिकोटका सिमाना नाग्म बजारमा गएको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । तीन घर एकै साथ पुरिँदा १० जनाको मृत्यु भएको हो । जसमा तिलागुफा नगरपालिका १ का ४० वर्षीय प्रयाग शाहि, ८ वर्षीय छोरी हिमा शाहि, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोरा अब्बल शाही गरी एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने पहिरो पन्छाउदै जाँदा थप ६ जनाको शव फेला परेको छ । जसमा तिला गुफा नगरपालिका १ का ३५ वर्षीय मानविर कटुवाल, ३० वर्षीय टेक बहादुर दमाई र उनकै श्रीमती वर्ष २५ की छाड्नु दमाई र उनका छोरा अन्दाजी वर्ष १० का गजेन्द्र महत, भेर्ी गंगा नगरपालिका १० निवासी वर्ष ४५ की आईती खड्का र सुर्खेतकै वर्ष २३ का अमृत थापा मृत्यु भएको हो । वर्षा शुरु भए संगै कालिकोटमा आएको बाढी पहिरोबाट विभिन्न घटनामा परी ४२ जना ज्यान गुमाएको प्रहरीको तथ्यांक छ । मृत्तकका आफन्तले अहिले सम्म राहत पाउने नपाउने कुनै टुंगो छैन ।
२० करोड बढीको क्षती
कालिकोटमा असार साउन लागे संगै शुरु भएको वर्षातले आएको बाढी पहिराले ठुलो जनधनको क्षति गरेको छ । मानवीय क्षतिसंगै भौतिक क्षति करिब २० करोड बराबरको भएको डिएसपीले जानकारी दिए । घर पुरिनु, बालीनाली लगाएका खेतबारी बग्नु, सयौ भेडाबाख्रा, गाईभैसी समेत बगेका छन् । भने अधिकांशका घर पुर्णरुपमा क्षति भएका छन् । प्रहरीले गरेको मुछुल्का अनुसार कालिकोटमा बाढिपहिरोले २० करोड बराबरको भौतिक क्षति भएको छ ।
सामान्य स्थानीयलाई अब आफै घर बनाउने अबस्था छैन । सरकारले कहिले बनाई दिने टुंगो पनि छैन । बाढी पहिरो पीडित आफन्तकै घरमा बसिरहेका छन् । महावै गाउँपालिकाका दर्जनौ बस्ती अझै पहिरोको जोखिममा छन् । २० करोडको भौतिक क्षति हुने गरी आएको बाढी पहिरो रोकथामको दिर्घकालिन समधान सरकार संग छैन । अहिले सम्मका घटनामा सुरक्षाकर्मी स्वयम घटनास्थलमै पुगेर उद्धार कार्य गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्