सोलुखुम्बुमा पहिरोमा परी तीन घाइते, एकको हेलिकप्टरबाट उद्धार

सोलुखुम्बु । सोलुखुम्बुको वाकुमा पहिरो सहित खसेको ढुङ्गाले लागेर तीन जना घाइते भएका छन् । गम्भीर घाइते भएका एक जनालाई हेलिकप्टर मार्फत उद्धार गरी काठमाडाँै पठाइएको छ ।
माप्यदूधकोशी गाउँपालिका–६ वाकुको वाप्सामा एक जनाको मृत्यु भएपछि दाहसंस्कार गर्न खोलामा गएको र फर्कने क्रममा बाटोमा करिब ५० मिटर माथिबाट ढुङ्गा खसेर लाग्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।
गम्भीर घाइते हुने माप्यदूधकोशी गाउँपालिका–६ वाकुका ३८ वर्षीय दिलबहादुर मगरलाई हेलिकप्टर मार्फत मङ्गलवार उद्धार गरिएको हो । उहाँको देब्रे खुट्टा, देब्रे हात र टाउकोमा चोट लागेको छ ।
अर्का २५ वर्षीय जीतबहादुर मगरको दाहिने खुट्टा र ढाडमा चोट लागेकाले जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । २३ वर्षीय मदन मगरको अवस्था भने सामान्य भएकाले घरमै सामान्य उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्