तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानबाट १७ करोड बढीको जडीबुटी निकासी


सल्यान । गत आर्थिक वर्ष २०७६/०७७ मा सल्यानबाट १७ करोड बढीको जडीबुटी निकासी भएको छ । टिमुर, रिट्ठा, तेज पात, दालचिनीको बोक्रा, घोडताप्रे, पाखनवेद्, लगायतका बहुमूल्य जडीबुटी निकासी भएका छन् ।

डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आ.व.मा राष्ट्रिय वनबाट ९५ हजार किलो र निजी आवादीबाट २ लाख ६७ हजार ४ सय किलो टिमुर, उत्पादन भएको छ ।

राष्ट्रिय वनबाट रिट्ठा १ लाख ८९ हजार किलो, घोडताप्रे १ हजार ५ सय किलो, दालचिनीको बोक्रा, ५ सय किलो, पाखनवेद ८ हजार ५ सय किलो सङ्कलन इजाजत लिइएको छ ।

यस्तै चुक्राको बोक्रा १४ हजार ८ सय किलो, तेज पात, ६१ हजार ५ सय किलो, बज्र दन्ती ५ हजार किलो र गोकुलधुप ५ सय किलो सङ्कलन इजाजत लिएको डिभिजन वन प्रमुख रमेश गिरीले बताए ।

जिल्लामा उत्पादन भएको बहुमूल्य जडीबुटी ३ लाख ६४ हजार ४ सय किलोबाट १८ लाख ५१ हजार ९ सय राजस्व सङ्कलन भएको गिरीको भनाई छ ।

सल्यानमा गत वर्ष सरदर ४ सय ५० रुपैयाँका दरले टिमुरको कारोबार भएको जडीबुटी व्यवसायी सङ्घ सल्यानमा महासचिव हरि न्यौपानेले बताए । जिल्लाबाट सबैभन्दा बढी टिमुर निकासी हुने बताउँदै उनले गत आर्थिक वर्षमा मात्रै ४ सय ५० किलोका हिसाबले मात्र पनि १६ करोड ३० लाख ८० हजार रकम भित्रिएको उनको भनाई छ । उनले भने ‘गते वर्ष ३ लाख ६२ हजार ४ सय किलो टिमुर उत्पादन भएको पाइएको छ जसबाट १६ करोड बढीको रकम जिल्लामा भित्रिएको छ ।’

यस्तै रिट्ठाबाट १ करोड २२ लाख ८५ हजार, तेज पातबाट २२ लाख बराबर रकम भित्रिएको न्यौपानेको भनाई छ । अन्य जडीबुटीले भने खासै बजार नपाएको उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button