तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलका पसलहरूमा अनुगमन सुरु


रुपन्देही । कोरोना महामारी फैलिएसँगै मास्क, स्यानिटाइजर लगायतका अत्यावश्यक सुरक्षाका सामग्रीहरूको चर्को मूल्य लिने गरेको गुनासो आएपछि बुटवल उपमहानगरपालिकाले अनुगमन सुरु गरेको छ ।

औषधी तथा अस्पतालजन्य वस्तुका सप्लायर्सहरुले मास्क तथा स्यानिटाइजरको चर्को मूल्य लिनुका साथै कृत्रिम अभावसमेत सिर्जना गर्न थालेपछि अनुगमन गरिएको बजार अनुगमन समिति संयोजक उपप्रमुख गोमादेवी आचार्यले बताउनुभयो ।

अनुगमनको क्रममा औषधी पसलमा मास्क तथा स्यानिटाइजरको मूल्य चर्को लिने गरेको पाइएको आचार्यले बताउनुभयो ।

व्यापारीहरूले सामान खरिद गरेर लिएको मूल्य भन्दा धेरै नाफा लिएको पाइएपछि पहिलो पटकलाई सचेत बनाएर छोडिएको र फेरि पनि चर्को मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गर्ने उहाँले बताउनुभयो ।

उपप्रमुख आचार्यसँगै वाणिज्य कार्यालयका प्रमुख हरि शर्मा, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोर, रुपन्देही व्यापार सङ्घका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि अर्याल, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश ५ का अध्यक्ष तेजकुमार पाठक लगायतको टोलीले अनुगमन गरेको थियो ।

 

लकडाउनमा थप कडाइ

समुदाय स्तरमा कोरोना संक्रमण बढिरहेपछि रुपन्देहीमा भदौ २० गतेसम्म थपिएको लकडाउन आजदेखि थप कडाइ गरिएको छ ।

जिल्ला स्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई भदौ २० गतेसम्म लकडाउन थप गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेपछि लकडाउन थपिएको हो ।

प्रमुख जिल्ला अधिकारी महादेव पन्तका अनुसार अत्यावश्यक बाहेक सबै यातायातका साधन तथा पसलहरू बन्द रहनेछन् । उहाँले जिल्लाका १६ वटै पालिकामा लकडाउन कडाइका लागि स्थानीय सरकारसँग समन्वय गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button