तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य विषयका प्राविधिक एसईई सरहका कार्यक्रम खारेज नगर्न माग

भक्तपुर । निजी प्राविधिक शिक्षालय महासंघले विकल्प विना नै सीटीईभीटी अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसईई सरहका कार्यक्रम खारेज नगर्न माग गरेको छ ।

महासंघले एक विज्ञप्ती निकाली एकातर्फ सरकारले नेपालमा ७० प्रतिशत भन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गर्ने निर्णय गर्नु, अर्कोतर्फ प्राविधिक क्षेत्रका टिएसईई तहको अध्ययन अध्यापनलाई खारेज गर्ने निर्णय गर्नु आफैंमा विरोधाभाषपूर्ण रहेको बताएको छ ।

निजी प्राविधिक शिक्षालय महाघंका महासचिव दुर्गाप्रसाद भुसालले नेपालको वर्तमान परिस्थस्थिमा १८ महिनाको कोर्ष पूरा गरेका अनमी, सीएमए, ल्याब असिस्टेन्टलगायतका जनशक्तिको आवश्यकता रहेको अवस्थामा एकाएक कार्यक्रम खारेज गरिनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । साउन ३० गते बसेको चिकित्सा शिक्षा आयोगले यी कार्यक्रम यही शैक्षिक सत्रदेखि खारेज गरिदिएको थियो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज हुँदा देशभरका एक सय ३७ संस्था र दुई सय ३८ वटा कार्यक्रम बन्द हुने र तिनमा आबद्ध १० हजार भन्दा धेरैजना बेरोजगार बन्नुपर्ने अवस्था आउने महासंघले जनाएको छ ।

कार्यक्रमलाई अपग्रेड गर्न तथा प्राविधिक शिक्षालयलाई स्तरोन्नति गर्न कम्तिमा एक वर्षको समय दिनुपर्ने महासचिव भुसालको भनाइ छ । उहाँले अनमी, सीएमए, ल्याब असिस्टेन्टलगायत कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेकाले निर्णय सच्चाउन आग्रह गर्नुभयो । कम्तिमा यसपटकको भर्ना र पठनपाठन निरन्तर गर्न पाउनुपर्ने उसको भनाई छ ।

सरकारको अपरिपक्व निर्णयले विद्यार्थी र यस क्षेत्रमा रोजगारी पाइरहेका र लगानीकर्तालाई समस्यामा पुर्याएको सचिब भुवनचक्र जोशीले बताउनुभयो । कोरोना महामारीका बिषम बेला हिजो हामीले नै सञ्चालन गरेका कार्यक्रमबाट उत्पादित जनशक्ति अग्रपंक्तिमा रहेर खटिरहेको हेक्का सरकारले राख्नुपर्ने भन्दै सरकार निर्णयबाट पछि नहटे आन्दोलन गर्न बाध्य हुने सचिब जोशीको भनाई छ ।

सरकारले स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने देशभरका एक सय ३८ वटा संस्थाको सम्बन्धन खारेज गरिदिएको थियो । स्वास्थ्य क्षेत्रका जनशक्ति कम भएको बेला २०५२ सालमा टिएसएलसी स्तरका स्वास्थ्य शिक्षा सम्बन्धी पठनपाठन गर्ने संस्थाहरू खुलेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button