सल्यानमा नौ सय छोरीको बैक खाता

सल्यान । कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’ कार्यक्रममार्फत सल्यानमा नौ सय बढीको छोरीको बैंक खाता खोलिएको छ ।
प्रदेश सरकारले छोरीमाथि हुने विभेद हटाई आर्थिक र सामाजिक सुरक्षा दिन गत वर्षदेखि उक्त कार्यक्रम ल्याएको थियो ।
सामाजिक विकास कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा नौ सय ३५ छोरीको बैंक खाता खोलिएको छ ।
कार्यालयका अनुसार बागचौर नगरपालिकाले सबैभन्दा बढी एक सय २८ छोरीको बैंक खाता खोलिएको सामाजिक विकास कार्यालय सल्यानका विरेन्द्र माझीले बताउनुभयो ।
उहाँका अनुसार शारदा नगरपालिकामा एक सय १९, बनगाड कुपिण्डे नगरपालिकामा एक सय १८, कपुरकोट गाउँपालिकामा ५५, त्रिवेणी गाउँपालिकामा ६१ छोरी बैंक खाता खोलिएको छ ।
यस्तै छत्रेश्वरी गाउँपालिकामा एक सय १८, कुमाख गाउँपालिकामा एक सय पाँच, सिद्ध कुमाख गाउँपालिकामा ९४ र दार्मा गाउँपालिकामा एक सय ३७ छोरीको वैंक खाता खोलिएको छ ।
कालिमाटी गाउँपालिकालाई पटक पटक विवरण पठाउन आग्रह गर्न गर्दा पनि नपठाएको माझीको भनाई रहेको छ ।
गत आर्थिक वर्षमा सल्यानका दश स्थानीय तहलाई छ÷छ लाखका दरले ६० लाख बजेट विनियोजन भएको थियो । ६० लाख बजेट मध्ये ४२ लाख ७९ हजार नौ सय रुपैयाँ मात्र खर्च भएको छ ।
कर्णाली प्रदेश सरकारले छोरी २० वर्ष नपुग्दासम्म पहिलो वर्ष एक हजार र मासिक पाँच सय रुपैयाँ छोरीको बैंक खातामा जम्मा गरिदिने गरेको छ । २० वर्षमा एक छोरीको खातामा एक लाख २० हजार रुपैया जम्मा हुन्छ ।
सरकारले बैंकमा जम्मा गरि दिएको रकम छोरीको उमेर २० वर्ष पुगेपछि मात्र झिक्न पाइने, बालविवाहह नगरेको हुनुपर्ने, छोरीले माध्यमिक शिक्षा पुरा गरेको हुनु पर्ने र माध्यमिक तहको अध्ययन पुरा भएको प्रमाणपत्रका आधारमा मात्र रकम उपलब्ध गराइने शर्त राखेको छ ।








प्रतिक्रिया राख्नुहोस्